ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका यी नाकामा बढ्यो चहलपहल

आइतबार ०५, असोज २०८२ ०४:५६

बैतडी । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने नेपालीको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । 

उनका अनुसार मौसमी रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा गएका नेपालीहरू चाडपर्वका लागि घर फर्कन थालेका छन् । 

झुलाघाट नाकाबाट पछिल्ला केही दिनयता दैनिक ७०–८० जना स्वदेश फर्किरहेका इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख एवं वरिष्ठ प्रहरी नायब निरीक्षक गङ्गाराम टमाटाले जानकारी दिए । यसअघि यो सङ्ख्या दैनिक १०–१५ जनासम्म थियो । 

भारतसहित रोजगारीका लागि बिदेसिएकाहरू स्वदेश फर्कन थालेका जनाइएको छ । बिसुपर्व मनाएर रोजगारीका लागि भारत पसेकाहरू दसैँका लागि उक्त नाका भएर फर्कने गरेका वरिष्ठ प्रहरी नायब निरीक्षक टमटाको भनाइ छ ।

उनका अनुसार दसैँको समयमा सुदूरपश्चिममा कुलदेवताको पूजाआजा हुने, जात्रा, मेला हुने भएकाले आफ्नै गाउँघर फर्कने गर्दछन् ।कैलालीको त्रिनगर कञ्चपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट नाकाबाट दिनहुँ स्वदेश भित्रिने क्रम बढ्दै गएको जनाइएको छ ।

दसैँ, तिहारलाई लक्षित गर्दै सुरक्षा योजनालाई थप व्यवस्थित बनाइएको प्रहरी प्रवक्ता बडूले बताए । उनले  भने, “सुरक्षा योजना बनाएर काम गरिरहेका छौँ । सीमा क्षेत्र, राजमार्ग, मुख्य बजारमा सहायता कक्ष स्थापनाको तयारी भइरहेको छ ।”

प्रतिक्रिया