धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति पुग्यो । प्रदर्शनकारीले प्रादेशिक संरचना पनि निशानामा बनाएका थिए ।
आन्दोलनको क्रममा मन्त्रालय, कार्यालयमा अत्यधिक क्षति भएपछि प्रादेशिक संरचनाअन्तर्गतका धेरैजसो अड्डाका कामकाज ठप्प रहेको हो । आन्दोलनकारीले प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय लगायतका मन्त्रालय र मातहतका विभिन्न कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
आन्दोलनकारीको प्रदेशसभामा पनि आगजनी गरेको हुँदा भौतिक संरचना तहसनहस भएकाले तत्काल कामकाज थाल्न सम्भव नरहेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले बताए । पुनर्निर्माणपछि मात्रै प्रदेशसभाको बैठक बस्ने गरी कामकाज हुने उनको भनाइ छ ।
प्रदेश सरकारले पनि सकेसम्म चाँडै प्रादेशिक संरचना सञ्चालन गर्ने गृहकार्य गरिरहेको जनाएको छ । आगजनीबाट मन्त्रालयमा क्षति पुगे पनि सरसफाइ र केही आवश्यक सामग्री जडान गरेर सेवा दिन सकिने मन्त्रालय र कार्यालयहरूलाई चाँडै सेवा सुचारु गर्न मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिइसकेका छन् ।
क्षतिग्रस्त संरचनाको अनुगमनको क्रममा मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी धेरै क्षेत्रसँग सम्बन्धित रहेका कारण सकेसम्म चाँडै मन्त्रालयको कामकाज सुचारु हुनुपर्ने औँल्याएका थिए । जस्तोसुकै विषम परिस्थितिमा पनि जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको भन्दै उहाँले छिटोभन्दा छिटो कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।
प्रतिक्रिया