ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ बनाउने गुरुयोजना छ वर्षदेखि अलपत्र

शुक्रबार ०३, असोज २०८२ १०:२६

धनगढी । धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना छ वर्षदेखि अलपत्र परेको छ । नेपाल सरकारले धनगढी विमानस्थल स्तरोन्नति गर्न बजेट विनियोजन नगर्दा योजना अलपत्र परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७६ सालमै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरेको थियो । सो गुरुयोजना कार्यान्वयन गर्नका लागि नेपाल सरकारले बजेट विनियोजन नगर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको छैन ।

२०७६ सालबाटै गुरुयोजना लागू गरिने भनिए पनि प्राधिकरणले नै २०७७ पुस ११ गते एक वर्ष ढिलो गुरुयोजना स्वीकृत गरेको थियो । बजेट अभावमा गुरुयोजना कार्यान्वयन हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले आफ्नो जमीन अधिग्रहण गर्ने सूचना पाएका वरपरका स्थानीयले आफ्नो जग्गाको खरिदबिक्री गर्न नसक्नुका साथै भौतिक संरचना समेत बनाउन सकेका छैनन् । पश्चिममा अत्तरिया–धनगढी छ लेन सडकको २४० मिटर पूर्वसम्म, उत्तरमा ठेकराज माविसम्म, दक्षिणमा लक्ष्मीनगरसम्म र पूर्वमा धनगढी–दीपायल द्रुतमार्गसम्म विमानस्थल बन्ने गुरुयोजनामा उल्लेख छ ।

बाह्र अर्ब १४ करोड लागतमा सन् २०१९ देखि २०४० सम्म कार्यान्वयन गर्ने गरी बनाइएको गुरुयोजना कार्यान्यन हुन नसकेको हो । पहिलो चरणको स्तरोन्नतिको काम २०१९ देखि २०२४ सम्म गर्ने र एक अर्ब आठ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । २०२५ देखि २०३० सम्म दोस्रो चरणको स्तरोन्नतिको काम गर्दा चार अर्ब ९८ करोड लागत हुने अनुमान गुरुयोजनामा उल्लेख छ । त्यसैगरी, २०३१ देखि २०४० सम्म तेस्रो चरणको स्तरोन्नतीको काम गर्न छ अर्ब आठ करोड लाग्ने अनुमान गरिएको छ ।

धनगढी विमानस्थल कार्यालयका अनुसार गुरुयोजना अनुसारको स्तरोन्नतिको काम अगाडि बढाउन बजेट विनियोजन हुन सकेको छैन । तर, विमानस्थलका प्रमुख बालकुमार सिंहले आफू एक महिनाअघि मात्रै धनगढी विमानस्थलमा आएको बताउँदै गुरुयोजना अनुसारका केही काम भएको हुनसक्ने बताए । ‘समय समयमै विमानस्थलमा विभिन्न संरचना निर्माण भइरहेकै हुँदा त्यो निर्माण गुरुयोजना अन्तर्गत भएको हो वा नियमित अन्य निर्माण हो भन्ने एकिन जानकारी छैन,’ उनले भने, ‘धेरै पहिलेको कुरा भएको हुँदा यस विषयमा विस्तृत विवरण हेरेर मात्रै जानकारी दिन सकिन्छ ।’

गुरुयोजना निर्माण हुँदा नै नयाँ टर्मिनल भवन बनिसकेको थियो भने गुरुयोजना बनिसकेपछि रनवे स्तरोन्नति गरिएको थियो । रात्री उडान भर्न र अवतरण गर्न मिल्ने गरी भिओआर–डीएमई उपकरण जडान गर्ने कार्य भइरहेको थियो । २१ विघा जमीन गुरुयोजना बन्नुभन्दा पहिले नै अधिग्रहण गरिसकिएको छ । 

नेपाल सरकारले धनगढी विमानस्थलको यो गुरुयोजना कार्यान्वयनका लागि विभिन्न प्रयासहरु गरे पनि सफल भएन । लगानी बोर्डले ‘धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ बनाउन यो गुरुयोजनालाई लगानी सम्मेलनमा शोकेशमा राखेको थियो । तर लगानी जुटेन । सुदूरपश्चिम प्रदेशका नेता प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा २०७८ पुस ११ गते प्राधिकरणबाटै एक अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका थिए । सो विनियोजित बजेटबाट गुरुयोजना अनुसार धनगढी विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न २५० विघा जमीन अधिग्रहण गरिने बताइएको थियो । तर, सो बजेट पनि कार्यान्वयन भएन ।

गुरुयोजनाको पहिलो चरणमा रनवेको संरचनागत सुधार गर्ने, ट्याक्सीवेको सेन्ट्रस एक्जिट लिंक गर्ने, छ वटासम्म जहाज पार्किङ गर्न एप्रोन १०० मिटर थप्ने (अहिले ९०ः६० मिटरको एप्रोन रहेको), दुई हजार वर्गफिटको टर्मिनल भवन बनाउने, जग्गा अधिग्रहण गर्ने, एयरसाइड लाइटिङ गर्ने, ६.६ किलोमिटर डाइभर्सन रोड बनउने, इन्टरनल सर्भिस रोड बनाउने र ढल निकास र प्राकृतिक कुलोहरुको व्यवस्थापनका लागि गुरुयोजना बनाउने उल्लेख छ ।

यसैगरी, दोस्रो चरणमा ४५ मिटर चौडाई र २५५० मिटर लम्बाई भएको नयाँ धावनमार्ग बनाउने, थप ट्याक्सीवे बनाउने, एआटी–७२ जडाज ६ वटा र ४ वटा ट्वीनेटर जहाज पार्किङ गर्न सकिने ३ सय मिटर लामो तथा १४० मिटर चौडाई भएको एप्रोन बनाउने, रनवे लाइटिङ गर्ने, चारलेनको एक्सेस रोड बनाउने, आन्तरिक सर्भिस रोड बनाउने, नयाँ पार्किङ क्षेत्र बनाउने, उद्धार तथा अग्नी नियन्त्रण स्टेशन बनाउने, इन्धन डिपोको स्थानान्तरण गर्ने, एयरपोर्टको सौन्दर्यकरण गर्ने, स्टाफ होस्टेल बनाउने, एयरसाइड ड्रेनेज सिस्टम बनाउने र पहिलो चरणमा शुरु भएका कामहरुलाई निरन्तरता दिने उल्लेख छ ।

तेस्रो चरणमा चार वटा ट्रयाक्सी लिंकरोड रनवेको समानान्तरमा बनाउने, थप तीन वटा ए३२० जहाज पार्किङ गर्न मिल्ने गरी एप्रोन ४८० मिटर लम्बाई र १४० मिटरमा विस्तार गर्ने, टर्मिनल भवन ५ हजार वर्गमिटरमा विस्तार गर्ने, एयरसाईटमा क्या–१ एप्रोच लाईटिङ सिस्टम जडान गर्ने, ७ किलोमिटर विमानस्थल पेरिफेरी रोड बनाउने, अघिल्लो चरणबाट शुरुभएको आन्तरिक सर्भिस रोड निर्माण सम्पन्न गर्ने, ५ सय वटा सवारीसाधन अटाउने गरी पार्किङ विस्तार गर्ने, कन्ट्रोल टावर विभिन्न ब्लकमा बनाउने, कार्गो कम्प्लेक्स र रिमोर्ट क्राफ्ट पार्किङ बनाउने र अघिल्लो चरणहरुमा शुरु भएका सबै कामहरुलाई सम्पन्न गर्ने उल्लेख छ ।

विमानस्थलमा ती निर्माणहरु गर्नका लागि २९७ विघा जमीन आवश्यक पर्ने उल्लेख छ । गुरुयोजना कार्यान्वयन गर्न विमानस्थलले २४४ विघा जमीन अधिग्रहण गर्नुपर्ने छ । गुरुयोजना बन्नुअघि अधिग्रहण गरिएको बाहेकको ७० विघा जमीनमा रहेको धनगढी विमानस्थलको रनवेको चौडाई ३० मिटर र लम्बाई एक हजार आठ सय मिटर छ । दुई हजार वर्गफिटको टर्मिनल भवन छ भने दुई वटा विमानका लागि एप्रोन छ भने रात्री उडान भर्न र अवतरणको गर्न मिल्नेट गरी भिओआर–डीएमई सिस्टम जडान गरिएको छ । 

धनगढी विमानस्थलले वार्षिक साढे ६ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा छ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । धनगढी–काठमाडौं–धनगढी दैनिक आठ उडान हुने गरेको छ । गतआर्थिक वर्ष २०८१/८२ मा धनगढी विमानस्थलबाट चार लाख २५ हजार यात्रुले यात्रा गरेको र करिब आठ करोड रुपैयाँ आम्दानी भएको विमानस्थल प्रमुख सिंहले बताए । यद्दपि, गुरुयोजनाले सन् २०२५ मा दुई लाख ४१ हजार यात्रुले धनगढी विमानस्थलबाट यात्रा गर्ने अनुमान गरेको छ ।
 

प्रतिक्रिया