ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
न्यूनतम मूल्यका टीकट नपाउँदा सर्वसाधारण मारमा

साढे १६ हजार पुग्यो काठमाडौँ–धनगढी हवाइ भाडा

बिहिबार ०२, असोज २०८२ १०:५१

धनगढी । काठमाडौँ–धनगढी उडानमा न्यूनतम् मूल्यका टीकट पाउन छोडेको छ । विमान कम्पनीहरुले केही दिनयता अधिकतम् मूल्यका टीकटमात्र बिक्री गरिरहेका छन् । १२ हजार रुपैयाँभन्दा कम मूल्यका टीकट प्राय पाउन छोडेपछि यात्रु समस्यामा परेका छन् ।

यो रुटमा अहिले टीकटको मूल्य अधिकतम् १६ हजार ७८९ रुपैयाँ छ । शुक्रबार भोलिका लागि काठमाडौँ–धनगढी हवाइ टीकटको न्यूनतम मूल्य अनलाइनमा आज १४ हजार तीन सय रुपैयाँ देखाएको छ । त्यो पनि केही सिटका लागि मात्र । अधिकांश टीकटको मूल्य १६ हजार ७८९ रुपैयाँ छ ।

अहिले धनगढी–काठमाडौँ उडानमा भने अधिकांश टीकटको मूल्य छ हजार ८९८ रुयैयाँ कायम गरिएको छ । शुक्रबार पनि त्यही मूल्यमा टीकट खुला गरिएको छ । काठमाडौँ–धनगढी उडानमा २÷३ दिनपछिसम्म पनि १२ हजार रुपैयाँभन्दा कम मूल्यको टीकट अनलाइनमा देखिएको छैन । 

काठमाडौँ–धनगढी उडानमा अहिले टीकटको मूल्य अधिकतम् १६ हजार ७८९ रुपैयाँसम्म कायम गरिएको भए पनि यसअघि सबैजसो टीकट न्यूनतम मूल्य साढे सात हजार रुपैयाँसम्ममा पाइन्थे । जेनजी आन्दोलनका कारण देशभर धेरैजसो ठाउँमा कफ्र्यु लागेसँगै यातायातका साधन बन्द भएपछि विमान कम्पनीहरुले काठमाडौँ–धनगढी रुटमा न्यूनतम् मूल्यका टीकट बिक्री गर्न छाडेका हुन् । 

दसैँँ सुरु हुनै लाग्दा हवाइ यात्रा गर्ने यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले न्यूनतम मूल्यका टीकट हटाएर अधिकतम् मूल्यका टीकटमात्र बिक्री गर्न थालेका हुन् । हवाइ टीकटको मूल्य आकाशिएपछि सर्वसाधारण मारमा परेका छन् । यात्रुको चाप बढेको वहानामा हवाइ कम्पनीहरुले कालोबजार गरेको यात्रुको आरोप छ । 

‘अरुबेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने, तर चाडवाडका बेला नमिल्ने पनि हुन्छ’ हालै यो रुटमा यात्रा गरेका धनगढीका खगेन्द्र साउँदले भने, ‘चाडपर्व आउनै लाग्दा टीकटमा विमान कम्पनीहरुको मनपरी सुरु भएको छ, सरकारी निकाय केही गर्दैनन् ।’ सम्पन्नले मात्र हवाइ यात्रा नगर्ने भन्दै उनले कतिपय स्वास्थ्य समस्याजस्ता कारणले हवाइ यात्रा गर्नुपर्ने बाध्यता भएका सर्वसाधारण टीकटको मूल्य बढी हुँदा मारमा परेको बताए । 

काठमाडौँ–धनगढी अहिले दैनिक आठ वटा उडान हुने गरेका छन् । श्री एअरलाइन्सले दैनिक छ वटा र बुद्ध यअरले दैनिक दुई वटा उडान भरिरहेको धनगढी विमानस्थल कार्यालय प्रमुख बालकुमार सिंहले जानकारी दिए । श्रीले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्छ । काठमाडौँसँग सिधा उडान भर्ने यो सुदूरपश्चिमको एकमात्र विमानस्थल हो । 
 

प्रतिक्रिया