ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा झण्डै ११ सय कैदीबन्दी अझै फरार, ३१२ कारागार फर्किए

शुक्रबार २७, भदौ २०८२ ०१:०७

धनगढी । जेनजी प्रदर्शनका क्रममा मंगलबार भागेका कैदीबन्दी धमाधम कारागार फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका जिल्ला कारागार कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुलाबाट कैदीबन्दी भागेका थिए । यस्तै डोटीको बाल सुधारगृहबाट पनि बालबन्दी फरार भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय र कारागार प्रशासनले कारागार फर्किन सूचना जारी गरेपछि धमाधम कैदीबन्दी फर्किन थालेका हुन् । 

प्रदेशका कारागारबाट जेनजी आन्दोलनको क्रममा एक हजार ४०१ कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये तीन सय १२ जना कारागार फर्किएका छन् । एक हजार ८९ कैदीबन्दी अझै फरार छन् ।

कञ्चनपुर कारागारबाट चार सय ७६ जना कैदीबन्दी रहेकोमा २२ जनाबाहेक सबै फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले ११ महिलासहित एक सय ४७ कैदीबन्दी कारागार फर्किएको जानकारी दिए । 

यस्तै, जिल्ला कारागार कैलालीले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन् । कारागारका जेलर चिरञ्जिवी सापकोटाले अहिलेसम्म २५ जना कैदीबन्दी फर्किसकेको जानकारी दिए । ‘२५ जना बन्दीगृहमा फर्किसकेका छन्,’ उनले भने, ‘अन्य थुप्रै कैदीबन्दी पनि सम्पर्कमा आएका छन् । आज भोलिमै उपस्थित हुने बताएका छन् ।’ जेलर सापकोटाका अनुसार अन्य कारागारबाट फरार रहेका तर कैलाली घर भएका कैदीबन्दी पनि सम्पर्कमा आएका छन् । उनीहरुले कैलालीमै राख्ने वा अन्यत्र पठाउनेबारे छलफल भइरहेको जेलर सापकोटाले बताए । कैलाली कारागारबाट छ सय बढी कैदीबन्दी जेनजी प्रदर्शनकारीको आन्दोलनपछि भागेका थिए ।

उता डडेल्धुरा कारागारबाट मंगलबार जेनजीको प्रदर्शनपछि ८५ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये ६१ जना कैदीबन्दीलाई पक्राउ गरेर कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए । ‘अन्य फरार कैदीबन्दीको खोजीका लागि प्रहरी टोली परिचालन भएको छ,’ उनले भने । 

उता दार्चुला कारागारमा रहेका ७७ कैदीबन्दीमध्ये ७१ जना मंगलबार फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले फरारमध्ये केहीलाई पक्राउ गरिएको र केही आफैँ सम्पर्कमा आएको जानकारी दिए । ३५ जना कैदीबन्दी कारागार फर्किएको डीएसपी दाहालले बताए । 

उता डोटीको बालसुधार गृहबाट भागेका ५२ जनामध्ये १३ जनालाई फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयका डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए । उता बझाङ जिल्लामा फरार रहेका ६५ जना कैदीबन्दीमध्ये १७ जनालाई कारागारमा फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई जना आफैँ सम्पर्कमा आएका हुने भने १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार जिल्ला कारागारबाट ६१ जना कैदीबन्दी फरार भएका थिए । ‘फरारमध्ये १४ जना कारागार फर्किसकेका छन्,’ उनले भने, ‘केहीलाई हामीले पक्राउ गरेर ल्याएका छौं । केही आफैँ कारागारमा उपस्थित भएका हुन् । 

 

प्रतिक्रिया