धनगढी । जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडका कारण सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्रालय र कार्यालयहरुमा क्षति पुगेको छ । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, प्रदेशका मन्त्रालयहरु र केही कार्यालयहरु जलेर ध्वस्त हुँदा प्रदेश सरकार पुनः भौतिक संरचनाविहीन सरह भएको छ ।
जेनजी आन्दोलन साम्य भए पनि प्रदेश प्रमुख नजिर मियाँ, मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरु बाहिर आउन सकेका छन् । केन्द्रका नेताहरुले सामाजिक सन्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । तर, सुदूरपश्चिमका मन्त्री र मुख्यमन्त्रीमार्फत त्यो पनि भएको छैन ।
मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु सुरक्षा निकायको सुरक्षामा बसिरहेका छन् । `प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो निवासमा छैनन्, यद्यपि उहाँहरु सबै सुदूरपश्चिममै हुनुहुन्छ,’ सचिवालयले भन्यो, ‘तर, एक्ज्याट लोकेशन भन्न मिल्दैन । उहाँहरु सुरक्षित स्थानमा हुनुहुन्छ ।’ प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूलाई सेनाको संरक्षणमा राखिएको बताइएको छ ।
आन्दोलनमा कार्यालय जलेको हुँदा कार्यालय खोल्न सकिने अवस्था पनि छैन । जलेका कार्यालयहरु सरसफाई र मर्मत गरेपछि मात्रै सेवा सुचारु गर्न सकिने एक कार्यालयका कर्मचारीले बताए । ‘कार्यालय खोलेर मात्रै के गर्ने ?’ ति कर्मचारीले भने, ‘सबै जलेको छ । कहाँ बस्ने ? कसरी सेवा दिने ? सरसफाई र मर्मत गरेपछि मात्रै कार्यालय सञ्चालन हुन सक्छ ।’
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले आन्दोलनको क्रममा भएको क्षति विवरण संकलनको लागि प्रशासनले समन्वय गर्न थालेको बताए । उनले क्षतिको विवरण संकलन गरिसकेपछि सरसफाई र मर्मत गरेर मात्रै कार्यालय सञ्चालन गर्न सकिने बताए ।
जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय भवन, गाडी, फर्निचर, मिसिल, कागजात, कम्प्युटर, प्रिन्टर लगायतका अर्बौको सम्पत्ति जलेर ध्वस्त भएको छ ।
प्रतिक्रिया