ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा निषेधाज्ञा जारी

मङ्गलबार २४, भदौ २०८२ ११:५२

धनगढी । कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन् । 

‘प्रदर्शनकारीको आगजनी, ढुङ्गामुढा तथा तोडफोड बढाएको अवस्थालाई मध्यनजर गरी सर्वसाधारणको जीउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गर्न, सहिष्णुता, सद्भाव कायम राख्न आवश्यक देखिएकोले मिति २४ गते बिहान ११ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम कञ्चनपुर जिल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ,’ आदेशमा भनिएको छ । 

तोकिएको सीमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ । सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र , बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

कञ्चनपुरका विभिन्न ठाउँमा जेनजी पुस्ताको आन्दोलन जारी छ । सरकारी दमनको विरोधमा आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गरेका छन् ।

जिल्ला प्रशासन कार्याल र अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन् । यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन् ।
 

प्रतिक्रिया