धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले नवीन सोच र योजनाका साथ युवाहरुलाई स्टार्टअप कर्जा कार्यक्रममा जोड्न सके प्रदेशको औद्योगिक विकासमा टेवा पुग्ने बताएका छन् । आइएलओको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमको अर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँ र सुदूरपश्चिम प्रदेश महासंघको संयुक्त आयोजना सुदूरपश्चिम प्रदेशस्तरिय स्टार्टअप सम्बादलाई सबोधन गर्दै मन्त्री खड्काले औद्योगिक विकास र रोजगारी सृजनामा प्रदेश पछाडि परेको उल्लेख गरे ।
उनले सुदूरपश्चिम प्रदेशमा औद्योगिक पूर्वाधारको अभाव रहेको बताउँदै युवाको नवीन सोच र धारणामार्फत मात्र औद्योगिक वातावरण निर्माण गर्न सकिने धारणा व्यक्त गरे । "नेपाललाई समृद्ध बनाउन सरकारले तय गरेको लक्ष्यअनुसार यस्ता कार्यक्रमहरू स्वागतयोग्य छन्," मन्त्री खड्काले भने ।
उनले भारत र चीन जस्ता मुलुकहरूले नवप्रवर्तनमा जोड दिइरहँदा नेपाल अझै पछि परेको उल्लेख गर्दै रोजगारीको अवसर नेपालमै सिर्जना गर्नुपर्नेमा जोड दिए । "नेपालको ८० प्रतिशत श्रम शक्ति विदेशिने गरेको अवस्थामा स्टार्टअप प्रवर्द्धनले वैदेशिक पलायन रोक्न सकिन्छ," मन्त्री खड्काले भने ।
कार्यक्रममा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले स्टार्टअप क्षेत्र अत्यन्तै डायनामिक र प्रभावकारी भएको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रको नवप्रवर्तन आवश्यक रहेको बताए । “सरकारले नीतिगत वातावरण तयार पार्ने हो, तर स्टार्टअपको नेतृत्व निजी क्षेत्रबाट नै आउनुपर्छ,” उनले भने ।
उनले स्टार्टअप प्रवर्द्धनका लागि नीति, नियम, वैधानिकता तथा कर्जाको पहुँचमा सहजता आवश्यक भएको बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले समेत यसमा गम्भीर ध्यान दिनुपर्ने औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एन्ड ईन्नोभेशन फोरमकी सभापति जूना माथेमाले स्टार्टअप नीति, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारि निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप कर्जा र नेउवा महासंघ नवप्रवर्तन फोरमका लागि सुदूरपश्चचिमबाट आमन्त्रित सदस्य सुरेशकुमार बोहोराले प्रदेश स्टार्टअपका बरेमा प्रस्तुति दिनका साथै सहभागीहरूबीच छलफल गरिएको थियो ।
कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरू, महिला उद्यमी, युवा व्यवसायी, विभिन्न युएन एजेन्सीहरू, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लगायतलाई महासंघका सहायक निर्देशक हरि पौडेलले स्वागत तथा कार्यक्रमबारे जनकारी गराएका थिए ।
प्रतिक्रिया