धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको नाम जोडिएको बालक मृत्यु घटनाको अनुसन्धान अगाडि बढाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–३ का १४ वर्षीय बालक किरण कोली मृत्यु घटनाको अनुसन्धान पूरक जाहेरीका आधारमा अगाडि बढाइएको हो ।
विद्युत्को हाइटेन्सन लाइनमुनि थुपारिएको बालुवामा खेल्ने क्रममा गत साउन १७ गते मृत्यु भएका बालक किरणको विषयमा हुलाकमार्फत पूरक जाहेरी प्राप्त भएको र सनाखतका लागि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
‘बालकको बालुवाको थुप्रोमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषयमा पहिले नै जाहेरी दर्ता भई अनुसन्धान भइरहेकोमा हुलाकबाट पूरक जाहेरी प्राप्त भएपछि त्यसमाथि अनुसन्धान भइरहेको हो ।
मृतक बालककी आमा राजमती कोलीले घटनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पालको निर्माण कम्पनीले विद्यत् हाइटेन्सन लाइनमुनि थुपारेको बालुवाका कारण करेन्ट लागेर छोराको मृत्यु भएको भन्दै मन्त्री पाल, मन्त्रीका छोरा र वडाध्यक्ष रघुवीर बोहराको नाममा हुलाकमार्फत जाहेरी दिएकी हुन् ।
किरणको मृत्युलगत्तै वडाध्यक्ष बोहराले मृतककी आमा राजमतीको खातामा पाँच लाख जम्मा गरिदिएका थिए ।
के हाे घटना ?
१७ साउनमा बैतडीको डिलासैनी गाउँपालिका– ३ गिरीबगडका १३ वर्षीय किशोर किरन कोलीको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका कोलीलाई गोकुलेश्वर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार विद्युत प्रशारण लाइनको मुनि संकलन गरेर राखिएको बालुवाको थुप्रोमा खेल्ने क्रममा कोलीलाई करेन्ट लागेको थियो ।
उक्त घटनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको नाम जोडियाे । घटना भएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीको डिलासैनी समिति र भोलिपल्ट नेपाली काँग्रेस डिलासैनी गाउँ कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरे । दुबै पार्टीले पनि घटनामा मन्त्री पालको नाम जोडेका थिए । मन्त्री पालको संरक्षणमा गैरकानुनी रुपमा चमेलिया नदीबाट उत्खनन् गरेर थुपारिएको बालुवाको ढिस्कोका कारण करेन्ट लागेर बालकको मृत्यु भएको दुबै पार्टीको आरोप थियो ।
‘मन्त्री पालको प्रत्यक्ष संरक्षणमा चमेलिया नदीबाट जेसीबी, स्काइभेटर प्रयोग गरी साउन महिनाको वर्षायाममा गैरकानुनी तरिकाले बालुवा उत्खनन् गरिएको थियो,’ काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘सोही उत्खननका कारण विद्युत लाइनमुनि बालुवाको थुप्रो जमाइएको र त्यसले विद्युत प्रवाहलाई सहजै जोखिममा पारेको अवस्थामा कोलीको ज्यान गएको हो ।’
घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने र पीडित परिवारमाथि आर्थिक प्रलोभनसहित दबाब दिने प्रयास भएको आरोप दुबै पार्टीको थियो । घटनाको १० दिनपछि नेपाली काँग्रेस डिलासैनीेले जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिनको माग गरेको थियो ।
न्यायको लागि कानुनी उपचार खोज्ने तयारीमा रहेकी बालककी आमा राजमतीको खातामा जानकारी नै नदिएर एमालेबाट निर्वाचित डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुवीर बोहराले पाँच लाख रुपैयाँ हालिदिए । वडा अध्यक्ष बोहराले राजमतीको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको स्वीकार गरेका छन् । वडाध्यक्ष बोहराले बालकलाई करेन्ट लागेको स्थानमा जम्मा गरिएको बालुवा मन्त्री पालकै भएको जानकारी आफूले पनि पाएको बताए ।
मृतक बालककी आमा राजमतीका अनुसार किरनको मृत्युको कारण करेन्ट भए पनि घटनामा मन्त्री पाल दोषी छन् । ‘विद्युतको लाइन नै छुने गरी मन्त्री पालका मान्छेले बालुवाको थुप्रो बनाइदिएका छन्,’ राजमतीले भनिन्, ‘सोही कारण मेरो छोरालाई करेन्ट लागेको हो ।’
बालक मृत्युको घटनामा आफूलाई अनावश्यक र पूर्वाग्राही रुपमा जोडिएको दाबी सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पालको छ । ‘त्यो घटनामा मेरो कुनै पनि संलग्नता नै छैन, म त असारदेखि बैतडी गएकै छैन,’ मन्त्री पालले केही दिनअघि अग्रलेखसंग कुराकानी गर्दै भनेका थिए, ‘अनावश्यक र पूर्वाग्राही ढंगले मलाई जोड्ने काम भएको छ ।’ घटनास्थलमा थुपारिएको बालुवा भने आफ्नो हुन पनि सक्ने भनाई मन्त्री पालको छ ।
याे पनि : बालक मृत्यु घटनामा कसरी जोडियाे सुदूरपश्चिमका मन्त्री पालकाे नाम ?
प्रतिक्रिया