ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा महाकाली नदीले गर्‍यो सतर्कता तह पार, कञ्चनपुरमा कस्तो छ अवस्था ?

मङ्गलबार १७, भदौ २०८२ ०२:३५

धनगढी । डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ । पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीले सतर्कता तह पार गरेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ पानीको सतक ६.८ मिटर पुगेको छ । नदीको बहाव बढ्दो क्रममा रहेकोले डडेल्धुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै, कञ्चनपुरमा महाकाली नदीको बहाव पनि बढ्दो क्रममा छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण नदीको बहाब बढिरहेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अहिले नदीको बहाव एक लाख ८६ हजार ७९९ क्युसेक छ ।

बुधबार साँझ साढे दुई लाखसम्म पानीको बहाव पुगेकोमा आज बिहान घटेर एक लाख ६५ हजार क्युसेक पुगेको थियो । अहिले फेरि नदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा पानीको बहाव बढेपछि विगत तीन दिनदेखि शारदा ब्यारेजमा तीन र चार पाङग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ । 

महाकाली नदीको २०७८ साल कात्तिक २ गते हालसम्मकै उच्च बहाव रेकर्ड गरिएको थियो । उक्त समयमा नदीमा पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको थियो । 

यस्तै, कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्र भर्इ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया