ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निजी अस्पतालका सञ्चालकलाई सेतीको भवन निर्माणको ठेक्का, आठ वर्षदेखि अधुरै

बिहिबार १२, भदौ २०८२ ०९:१४

धनगढी । थेगिम कन्स्ट्रक्सनले आठ वर्षसम्म सेती प्रादेशिक अस्पतालको भवन निर्माण सम्पन्न नगर्दा मल्टिस्टोरी अस्पताल भवन निर्माणको योजना तुहिएको छ । २०७४ मा ठेक्का लगाइएको भवन बनेपछि जीर्ण भवनमा सञ्चालन भइरहेको प्रसूति सेवा सो भवनमा सारेर जीर्ण भवन भत्काउने र मल्टिस्टोरी अस्पताल भवन बनाउने योजना तुहिएको हो ।

सामाजिक विकास मन्त्रालयले सुत्केरी सेवा स्थानान्तरण गर्न नसकिएकोले चालुआर्थिक वर्षमा मल्टिस्टोरी अस्पताल भवन निर्माणको लागि बजेटमा विनियोजन नभएको जनाएको छ । अस्पताल स्थापनाकालमा निर्माण भएको भवन जीर्ण भएकाले सो भवनमा रहेको प्रसुती सेवा र ल्याब सेवालाई नयाँ भवनमा सार्ने योजना थियो । ‘निर्माण कम्पनीले भवन सम्पन्न नगर्दासम्म हामीसंग प्रसूति सेवा दिनको लागि अर्को विकल्प छैन,’ सेती प्रादेशिक अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले भने, ‘अस्पताललाई भवन हस्तान्तरण नभएकोले प्रसूति सेवा सार्न सकिएन । मल्टिस्टोरी भवन निर्माणका लागि विनियोजित बजेट फ्रिज भयो ।’

सुदूरपश्चिम प्रदेश सरकारले सेतीको मल्टिस्टोरी अस्पताल भवन निर्माणका लागि लगातार तीन वर्ष बजेट विनियोजन गरेको थियो । नेपाल सरकारको समपुरक अनुदान र प्रदेश सरकारको बजेटबाट निर्माण गरिने सो भवनका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छैन । सामाजिक विकास मन्त्रालयको अस्पताल विकास शाखाका प्रमुख डा. चेतराज जोशीले चालुआर्थिक वर्षमा सेतीको मल्टिस्टोरी भवन निर्माणका लागि बजेट विनियोजन नभएको बताए । ‘गतआर्थिक वर्षमा बजेट विनियोजन भए पनि अस्पतालले भत्काउनुपर्ने भवनमा रहेको सेवाहरु सार्न सकिने अवस्था नदेखिएकाले सो भवनको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पनि बनाइएन,’ डा. जोशीले भने, ‘समपुरक अनुदानबाट बजेट विनियोजन भइरहेको थियो । यो वर्ष अस्पतालको भवन बनेपछि सेवा सारेर प्रदेश सरकारले पुनः समपुरक अनुदानका लागि सिफारिस गरे अर्को वर्ष बजेट आउन सक्छ ।’

सेती प्रादेशिक अस्पतालको सेवालाई तीन सय शय्यामा विस्तार गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले अहिले प्रसूति सेवा दिइरहेको पुरानो भवनलाई भत्काएर नौं तलाको मल्टिस्टोरी भवन बनाउन विस्तृत आयोजना प्रतिवेदन बनाएको छ । त्यसको लागि गतआर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले आन्तरिक स्रोतबाट एक करोड, समानिकरण अनुदानको रकमबाट दुई करोड गरी जम्मा तीन करोड विनियोजन गरेको थियो भने नेपाल सरकारले योजनाको लागि १५ करोड रुपैयाँ समपुरक अनुदानका लागि विनियोजन गरेको छ ।

भत्काउनुपर्ने भवनबाट सेवा सार्नुपर्ने भवन निर्माण नहुँदा विनियोजित १८ करोड रुपैयाँ गतवर्ष फ्रिज भयो । यसअघि दुई आर्थिक वर्षमा पनि मल्टिस्टोरी भवनका लागि विनियोजत बजेट फ्रिज भएको थियो ।

सेती प्रादेशिक अस्पतालको निर्माणाधीन भवन निर्माणको लागि संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले रविना थेगिम जेभीलाई २०७४ कात्तिक २८ गते ठेक्का दिएको थियो । अढाई वर्षमा निर्माण सम्पन्न गर्ने सर्तमा रविना निर्माण सेवासंग जेभी गरी थेगिम कन्स्ट्रक्सनले १८ करोड ७४ लाख २८ हजार ५२८ रुपैयाँमा ठेक्का कबोल गरेको थियो । तर थेगिमले आफै निर्माण कार्य नगरी विभिन्न स–साना निर्माण कम्पनीहरुलाई पेटी ठेक्का दिएकाले आठ वर्षसम्म भवन बनेको छैन ।

सो भवन निर्माण सम्पन्न नहुँदा सडक निर्माणको क्रममा ओपिडी भवन गुमाएको सेती प्रादेशिक अस्पतालाई सेवा दिन कठिनाई उत्पन्न भएको छ । अस्पतालले अधुरै भवनमा ओपिडी सेवा सुरु गरेको छ भने चुहिने र बाढी पस्ने भवनबाट प्रसूति सेवा दिन बाध्य भएको छ । ‘जिर्ण भवन ५० वर्षभन्दा पुरानो भएकोले होचो भएको छ, बाटो र नाली अग्लो भइसक्यो,’ सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.खगेन्द्रराज भट्टले भने, ‘बर्खामा पानी जम्छ । पानी जम्ने ठाउँमा सुत्केरी र शिशुलाई सेवा दिन आफैमा गम्भीर कुरा हो । नयाँ भवन बनेको भए, त्यहाँ सारेर सुरक्षित सेवा दिन सहज हुन्थ्यो ।’

अस्पताल भवन अलपत्र पारेको जेभीलाई संघीय आयोजना कार्यान्वयन इकाईले कुल ठेक्का अंकमा दैनिक ०.०५ प्रतिशत जरिवानामा राखेको थियो । खरिद नियमावलीको तेह्रौं संशोधनले सो जेभीलाई जरिवना मुक्त गरेको थियो भने चौधौं संशोधनले फागुन २४ गतेसम्म म्याद दिएको छ । इकाईका इञ्जिनियर शौरभ कलौनीले फागुन २४ गतेसम्म काम सम्पन्न नगरे जेभीलाई पुनः जरिवाना लगाइने बताए । उनले थेगिमले अस्पताल भवनको ठेक्काबापत ठेक्का अंकको ८३ प्रतिशत (१५ करोड ५५ लाख ६५ हजार रुपैयाँ) भुक्तानी लिएको छ ।

अस्पताल भवन निर्माण अलपत्र पारेको थेगिम कन्स्ट्रक्सनको सम्पूर्ण काम हरिहर पन्तले हेर्दै आएका छन् । थेगिमका चार सञ्चालकमध्ये एक पन्तकी श्रीमती अनिता पनि हुन् । पन्त परिवारले सेती प्रादेशिक अस्पताल नजिकै नोभा अस्पताल सञ्चालन गर्दै आएको छ । हरिहर पन्त सडक विभाग अन्तरगतको हेवी इक्वीपमेन्ट डिभिजन कार्यालय गोदावरीका प्रमुख हुन् । उनले सञ्चालन गरेको थेगिम कन्स्ट्रक्सनले अस्पताल भवनको ठेक्का हात पार्न लागत अनुमानभन्दा २६.५८ प्रतिशत कममा टेण्डर भरेको थियो । भवनको २५ करोड ५२ लाख ८९ हजार ४३८ रुपैयाँ लागत अनुमान रहेको थियो । थेगिमले आठ वर्ष लगाएर अस्पताल भवनको ९० प्रतिशत मात्रै काम गरेका छ ।

इञ्जिनियर कलौनीले अस्पताल भवनमा इलेक्ट्रिक, फ्लोरिङ र पेन्टिङको काम बाँकी रहेको बताए । निर्माणधीन भवनमा छ वटा ब्लकमा ओपिडी, सुत्केरी वार्ड, लेबर वार्ड, रिकोभरी वार्ड, सुत्केरी अप्रेसन थियटर, एनआइसियु लगायतका वार्डहरु बनाउने गरी डिजाइन गरिएको छ ।

२०३९ सालमा नेपाल सरकारबाट ५० शय्याको अनुमति पाएको सेती प्रादेशिक अस्पतालले निजी स्रोतबाट ७५ शय्या थपी १२५ शय्याको सेवा दिइरहेको छ । थेगिमले भवन निर्माण सम्पन्न नगरेपछि सेती प्रादेशिक अस्पतालले तीन तले भवनमाथि अर्को तला थप्ने योजना बनाएको छ । तला थप गर्न प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ९४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यता रविना कन्स्ट्रक्सन प्रालि चितवनका सञ्चालक रामगोपाल श्रेष्ठले सुनिलकुमार थापाबाट खरिद गरी थेगिम कन्स्ट्रक्सनको जिम्मेवारी हरिहर पन्तको परिवारले लिएको बताए । उनले आफूले समेत पटकपटक सेतीको ठेक्का सम्पन्न गर्न ताकेता गरेको बताए । उनले अब धेरै काम र काम गर्ने समय पनि बाँकी नरहेको बताउँदै निर्धारित समयमा काम सक्याउन केही दिन अघि नै पन्तलाई फोन गरी सचेत गराएको बताए । पन्तले नै सम्पूर्ण जिम्मेवारी लिएपछि थेगिमसंग रविनाले जेभी गरी सेती अस्पतालको भवन ठेक्का लिएको  श्रेष्ठले बताए ।

थेगिम कन्स्ट्रक्सनको संचालकमध्येकी एक अनिता पन्तले सेतीको भवन निर्माणको काम भइरहेको बताउँदै त्यसैको कामको लागि आफू भारत आएको जानकारी दिइन् ।

प्रतिक्रिया