ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर घटनाको राजनीतिक तबरले समाधान खोज्नुपर्ने माग

बुधबार ११, भदौ २०८२ ०४:२३

टीकापुर । थारु कल्याणकारिणी सभा कैलालीले १०औं टीकापुर विद्रोह दिवस २०८२ को घोषणा पत्र सार्वजनिक गरेको छ । टीकापुरस्थित कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा विद्रोह दिवसको दिन आयोजित अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सहितको १० बुँदे माग सार्वजनिक गरिएको छ । 

सार्वजनिक मागहरुमा संविधानसभाबाट गठित राज्य पुर्नसंरचना समिति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन तुरुन्त लागु गर्नुपर्ने उल्लेख छ । टीकापुर विद्रोह २०७२ राजनीतिक घटना भएको बताउँदै त्यसको राजनीतिक तबरले नै समाधान खोज्नुका साथै सो घटनाका सम्बन्धमा राष्ट्रिय अनुसन्धान आयोगका पूर्वप्रमुख देविराम शर्मा नेतृत्वको छानबिन समिति र सर्वोच्च अदालतका पूर्वन्यायाधिस गृषचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरिएको छ । 

अन्तरक्रिया कार्यक्रमको निष्कर्षले संवैधानिक अंग, निजामति सेवा, शिक्षा सेवा, राजनीतिक नियुक्ति, न्यायपालिका, प्रहरी, सैनिक लगायत सबै क्षेत्रमा जातिय जनसंख्याको आधारमा पूर्णसमानुपातिक सहभागिताका साथै सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजमको भाषाका रुपमा तुरुन्त लागु गर्नुपर्ने मागसमेत अघि सारिएको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बडघर, भल्मन्सा, महतौंवा प्रथा सम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउनुपर्ने र मुक्त कमैया, मुक्त कमलरी तथा सुकुम्बासीको समस्या समाधान र व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । 

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले वर्तमान सरकारले संविधान संशोधनमार्फत हरेक जातजातिका माग सम्बोधन गर्ने सहमति गरेकाले थारु समुदायका माग सम्बोधन हुनेमा आशावादी रहेको बताए । ‘संविधान संशोधनमार्फत सबैका माग सम्बोधन गर्ने लिखित सम्झौता गरेर नै वर्तमान सरकार गठन भएको हो,’ उनले भने, ‘हाम्रा माग प्रति वर्तमान सरकार गम्भीर बन्नेछ र ती माग पूरा गर्ने विश्वास छ ।’ उनले थारु समुदायको माग पूरा गर्नमा पहाडीया समुदायको समेत सहयोग आवश्यक रहेको बताउँदै टीकापुरलाई सबैको साझा थलो बनाउनुपर्ने बताए । 

थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष बिरबहादुर थारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टी कैलालीका अध्यक्ष प्रदीप चौधरी, नेकपा समाजवादीकी नेतृ सीता चौधरी लगायतको उपस्थिति रहेको थियो । 
टीकापुर विद्रोह दिवसको अवसर पारेर भदौ ७ गते भएको अन्तरक्रिया कार्यक्रममा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका अगुवा थारुहरुको सहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया