बैतडी । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी कार्यक्रमको शुभारम्भ गरे।
दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ । नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक वर्ष २०८१/८२ मा नौ लाख ९९ हजार ७३५ बजेट राखिएको थियो । गत असारमा जडान गरिएका बल्बहरू जडान गरिएका थिए । यो कार्यक्रमका लागि चालु आवमा १० लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा नगरपालिका देहीमाण्डौँ, मुस्याचौर, झुलाघाटलगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए।
उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्ने बताइएको छ । विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए। ‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया