धनगढी । गेटास्थित सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । उनीहरुले यसै वर्षबाट तीन सय सय्याको अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने माग गरे ।
सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन गठित संघर्ष समितिको अगुवाइमा अत्तरिया र गेटाका स्थानीयले सोमबार बिहान गेटामा सरसफाइ गरेका थिए । स्थानीयले विश्वविद्यालय भवन वरिपरी झाङ्गिएको झाडी काट्नुका साथै सरसफाइ गरेका हुन् ।
सरसफाइ कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका पदाधिकारीहरुले उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेर विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गरे । अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन यसै वर्षबाट सुरु गरिनुपर्ने माग संघर्ष समितिले गरेको छ ।
संघर्ष समितिका सदस्य विनोद बिष्टले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन ल्याए पनि ऐनअनुसार पदाधिकारी नियुक्तिमा ढिलाइ भएको भन्दै आपत्ति जनाए । पदाधिकारी नियुक्त गरेर विश्वविद्यालय सञ्चालनको प्रकृया तत्काल सुरु गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए । विश्वविद्यालय सञ्चालनका लागि दवावमुलक आन्दोलनअन्तर्गतनै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको बिष्टले बताए ।
संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले विश्वविद्यालय सञ्चालनका नाममा सरकारले अल्झाउने काम गरिरहेको आरोप लगाए । उनले विश्वविद्यालय सञ्चालनका लागि संघर्ष समितिले दवावमुलक आन्दोलन जारी राख्ने बताए ।
‘गेटामा चिकित्सा शिक्षाको पठनपाठन र तीन सय सय्याको अस्पताल यसै वर्षबाट सुरु गरिनु पर्ने हो तर सरकारले त्यसमा वास्ता नगर्नु दुखद् हो’ उनले भने, ‘अस्पताल र पठनपाठन सुरु नहुँदासम्म हामी आन्दोलन जारी राख्छौँ ।’
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारी व्यवास्ताका कारण गेटामा करोडौँका संरचना अलपत्र परेका बताए । उनले गेटामा चिकित्सा शिक्षाको पठनपाठन सुरु नभएसम्म आफूहरुको आन्दोलन नरोकिने प्रष्ट पारे ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गेटामा सञ्चालित ५० श्याको अस्पतालअन्तर्गत ३० सय्याको आकस्मिक कक्ष उद्घाटन गरेको भनेर भ्रम सिर्र्जना गरेको उनले आरोप लगाए ।
सात महिनाअघि यहाँ आउँदा मन्त्री पौडेलले गेटामा तीन सय सय्याको अस्पताल तत्काल सुरु गर्ने प्रतिवद्धता जनाए पनि प्रतिवद्धताविपरीत आकस्मिक कक्ष उद्घाटन गरेर भ्रम छर्न खोजेको पाण्डेयले बताए । दवावमुलक कार्यक्रमअन्तर्गत समितिको अगुवाइमा सरसफाइ गरिएको उनले बताए ।
सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन जारी भएको दुई महिनाभन्दा बढी समय भए पनि सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेको छैन । करिब छ अर्ब ६८ करोड रुपैयाँको लागतमा गेटामा बनेका संरचना प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेका छन् ।
प्रतिक्रिया