धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुरामा पार्टी संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ । रास्वपाले पार्टी संगठन सुदृढ बनाउन जिल्लाभरिनै संगठन निर्माण अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
अजयमेरू गाउँपालिकाबाट सुरू गरिएको अभियानअन्तर्गत जिल्लाका सात वटै पालिका र ५३ वटै वडामा संगठन निर्माण गरिने रास्वपाका नेता पारस बाहुनले जानकारी दिए । अभियानका क्रममा संगठन निर्माणसंगै स्थानीयस्तरका समस्या र तिनको समाधानको विषयमा पनि जनताका बिचमा व्यापक छलफल गरिने उनले बताए ।
अभियानको नेतुत्व केन्द्रीय खेलकुद विभागका उपप्रमुख घनश्याम बिष्टले गरिरहेका छन् । अभियानमा रास्वपा जिल्ला सभापति सुरेन्द्र अवस्थीलगायत पालिका कमिटीका पदाधिकारी सहभागी छन् ।
रास्वपा डडेल्धुराले जिल्लाको विकासको खाका तयार गर्न पार्टी जिल्ला सभापतिसमेत रहेका इन्जिनियर सुरेन्द्र अवस्थीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । समितिको उपसंयोजकमा इन्जिनियर महेशसिंह धामी तथा सदस्यमा इन्जिनियर बीर कार्की, जिल्ला उपसभापति प्रेमबहादुर बुढा, सहसचिव बसन्त पाण्डेयलगायत छन् ।
रास्वपा डडेल्धुराले जिल्लामा विकासका सम्भावना, संभावित लागत र आवश्यक समयावधि उल्लेख गरी ब्लु प्रिन्टसहित प्रस्तुत गरेर जनतामा जाने तयारी रहेको रास्वपा सुदूरपश्चिमका पूर्वमहामन्त्रीसमेत रहेका बाहुनले जानकारी दिए ।
प्रतिक्रिया