धनगढी । भारतीय सीमा क्षेत्रसंग जोडिएको कैलालीमा तस्कारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा सामाग्री भित्र्याउने क्रम बढेपछि सशस्त्र प्रहरीले सक्रियता बढाएको हाे । तीन दिनको अवधिमा करोड बढीको सामान बरामद गरिएकाे छ ।
शुक्रबार मात्रै जिल्लाको धनगढीबाट ४८ लाख १२ हजारको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले आइतबार झण्डै ६० लाखको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका अनुसार ५९ लाख ७३ हजारको मोबाइल पार्टस् बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मोबाइल पार्टस्, डाटा केबल, वायरलेस ब्लुटुथ लगायतका सामान बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँमा टिनको छाप्रोमा बेवारिसे अवस्थामा सामान फेला परेको नम्बर ३४ गणले जनाएको छ । उक्त सामान भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको र बरामदपछि भन्सार कार्यालय खक्रौला कैलालीमा बुझाइएको बताइएको छ ।
प्रतिक्रिया