ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको पहलमानपुरमा हाइटेन्सन लाइनको पोल जोखिममा पार्दै वडा कार्यालय विस्तार

आइतबार ०८, भदौ २०८२ ०३:२५

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० को कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गतको हाइटेन्सन लाइन रहेको विद्युत पोललाई जोखिम हुने गरी कार्यालय क्षेत्र विस्तार गरिरहेको छ । पूर्वपश्चिम राजमार्गको छेउमा रहेको उक्त वडाको कार्यालय भुर्काभूर्की सामूदायिक वन क्षेत्रमा निर्माण गरिएको छ ।  

०७८ सालमा बनेको वडाको मुख्य कार्यालय हाइटेन्सन लाइन रहेको विद्युतको पोलभन्दा केही मिटर पर रहेको थियो । हाल डोजर लगाएर पश्चिमतर्फ अर्को भवन निर्माण गर्न कार्यालयको प्राङगण फराकिलो बनाउन थालिएको छ । जसका कारण हाइटेन्सन लाइन रहेको विद्युतको पोललाई नै क्षति हुनसक्ने जोखिम बढेको छ । 

घोडाघोडी नगरपालिका–१० का वडाध्यक्ष विजय स्वाँरले भने हाइटेन्सन लाइन रहेको विद्युत पोललाई जोखिम हुने गरी काम नगरिएको दावी गरे । ‘हामीले ख्यालै नगरी अन्दाधुन्द काम गरेका छैनौं, प्राविधिक दृष्टिले धेरै फरक नपर्ने गरी ठाउँ विस्तार गरिएको हो,’ अध्यक्ष स्वाँरले भने । 

अत्तरिया ग्रीड महाशाखाले नियमन गर्ने हाइटेन्सन लाइन तथा पोलमा घोडाघोडी–१० को कार्यालय विस्तारका क्रममा हुनसक्ने जोखिमबारे भने जानकारी नरहेको जनाएको छ । हाइटेन्सन लाइनको पोल निर्माणका क्रममा व्यक्तिको जग्गा भए सात मिटर वरिपरिको क्षेत्रलाई सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको हुन्छ । सरकारी जगामा पनि सरकारले प्रक्रियागत रुपमा व्यवस्था मिलाएको हुन्छ ।

यता सामूदायिक वनका अध्यक्ष मोहन चौधरीले पहिलाको अध्यक्ष पतिराम चौधरीकै पालामा वडा कार्यालयलाई जग्गा दिएको बताए । ‘सभाहल बनाउनका लागि डोजर लगाएर खनेका हुन्,’ उनले भने, ‘मलाई पनि सोधेका त हुन् । तर, मैले वन कार्यालयसँग सम्पर्क गर्नु भनेको हुँ । सहकार्य गरे–नगरेको थाहा भएन ।’

प्रतिक्रिया