धनगढी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को आर्थिक वर्ष २०८०/८१ को नतिजामा सुदूरपश्चिम प्रदेशका २४ स्थानीय तहले डिस्टिङ्सन अंक ल्याएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्यालयले नतिजाको गुणस्तर परीक्षण गरी सार्वजनिक गरेको अन्तिम नजितामा प्रदेशका २४ स्थानीय तहले ८० प्रतिशतभन्दा बढी अंक पाएका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाले ८५.५० अंक पाएर प्रदेशको पहिलो भएको छ भने बाजुराको बुढीगंगा नगरपालिकाले ८४.२५ अंकसहित दोस्रो भएको छ ।
प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ८४ अंकसहित प्रदेशमा तेस्रो भएको छ । बाजुराकै बडीमालिका नगरपालिकाले ८३.५०, कञ्चनपुरको बेदकोट नगरपालिका र डडेल्धुराको अजयमेरु गाउँपालिकाले समान ८३.३५ अंक पाएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाले ८२.५०, डोटीको जोरायल गाउँपालिकाले ८२.२५, कञ्चनपुरका बेलडाँडी र लालझाडी गाउँपालिकाले समान ८१.७५, बाजुराको जगन्नाथ गाउँपालिकाले ८१.५० पाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका, डडेल्धुराको आलीताल र भागेश्वर गाउँपालिका तथा डोटीको बडिकेदार गाउँपालिकाले समान ८१.२५ पाएका छन् । बाजुराको स्वामीकार्तिक गाउँपालिका, कञ्चनपुरको पुर्वास नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, कैलालीका गोदावरी नगरपालिका र चुरे गाउँपालिका तथा डोटीको बोगटान फुडसिल गाउँपालिकाले समान ८१ अंक आएका छन् ।
दार्चुलाका नौगाड र मालिकार्जुन गाउँपालिकाले समान ८०.२५ अंक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ८० अंक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ (पहिलो संशोधन २०७८) को व्यवस्थाअनुसार विभिन्न १० विषय क्षेत्रमा सोधिएको प्रश्नका आधारमा स्थानीय तह आफैले अंक राख्ने गरेका छन् । त्यसरी स्थानीय तहले राखेका अंकहरुको संघीय मामिला मन्त्रालयले गुणस्तर परीक्षण गरी अन्तिम नजिता प्रकाशन गर्ने गरेको छ ।
कार्यविधिको व्यवस्थाअनुसार शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १३, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ र सहकार्य र समन्वयमा ६ अंक गरी जम्मा १०० अंकको दिने व्यवस्था गरिएको छ । क्षेत्रगत अंकलाई पनि समग्र अवस्था, प्रक्रियागत अवस्था र परीणामात्मक अवस्थामा गरी तीन उपक्षेत्रमा विभाजन गरी क्षेत्रगत अंकहरुलाई पनि विभाजन गरिएको छ ।
प्रदेशमै पहिलो भएको घोडाघोडीले शासकीय प्रबन्धमा ९ मा ९, संगठन तथा प्रशासनमा ८ मा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११ मा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११ मा ९.७५, सेवा प्रवाहमा १६ मा १२, न्यायिक कार्यसम्पादनमा ७ मा ७, भौतिक पूर्वाधारमा १३ मा १०.५०, सामाजिक समावेशीकरणमा १० मा ९, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ मा ७.५० र सहकार्य र समन्वयमा ६ मा ४.७५ अंक प्राप्त गरेको छ ।
प्रतिक्रिया