धनगढी । सरकारले कैलालीको गेटामा चिकित्सा शिक्षाको पठनपाठनसहित छ सय शय्याको अस्पताल सञ्चालनका लागि भवनसहित संरचना निर्माण गरेको छ । तर, चिकित्सा शिक्षा र अस्पताल सञ्चालनको योजना जस्तै त्यहाँ बनेका आलिसान भवन पनि चार–पाँच वर्षदेखि अलपत्र छन् । छ सय शय्याको अस्पतालका लागि पूर्वाधार बनेको ठाउँमा सरकारले ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । चिकित्सा शिक्षा पठनपाठनको कुनै टुंगो छैन ।
डाक्टर उत्पादन गर्न बनाइएका आलिसान भवनै भवनले सुन्दर र आकर्षक देखिने गेटा अहिले युवायुवतीका लागि टिकटक बनाउने थलो भएको छ । फोटो खिच्न र टिकटक बनाउनकै लागि दैनिक सयौँ युवायुवती गेटा पुग्ने गर्छन् । टिकटक र सेल्फी खिच्नेको भिडले अस्पतालको वातावरण र सुरक्षा व्यवस्थामा समेत बाधा परिरहेको भन्दै अस्पतालले सूचना नै जारी गर्नुपरेको छ । अस्पतालले सूचना जारी गरेर त्यहाँ टिकटक र फोटो नखिच्न आग्रह गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन टिकटक बनाउन र फोटो खिच्न आउनेको संख्या हजारभन्दा बढी हुन्छ । अस्पतालले सूचना जारी गरेपछि पनि टिकटक बनाउन जानेको संख्या रोकिएको छैन ।
गेटामा चिकित्सा शिक्षाको पठनपाठन र छ सय शय्याको अस्पताल सञ्चालनका लागि छ अर्ब ६८ करोड रुपैयाँ लागतमा संरचना बनेका छन् । तर, तत्काल चिकित्सा शिक्षा पठनपाठन र अस्पताल सञ्चालनको कुनै सुरसार छैन । लामो समय प्रयोगविहीन भएपछि भवन र त्यसभित्र राखिएका सामान जीर्ण बन्न थालेका छन् । अधिकांश भवन ०७७ र ०७८ मा बनेका हुन् ।
निर्माण भएका भवनको उचित रेखदेखसमेत हुन सकेको छैन । भवनहरूमा ताला झुन्ड्याइएको छ । कतिपय भवन चर्किनुका साथै हावाहुरीले झ्यालढोकामा क्षति पुगेको छ । कतिपय भवनको रङ खुइलिन थालेको छ । भवनभित्र त्यतिवेलै एसी, पंखा, फर्निचरलगायत सामान राखिएका थिए । शैक्षिक भवनमा डेस्क, बेन्च, ह्वाइटबोर्ड, पोडियमसमेत राखिएका छन् ।
हालै खारेज भएको पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले प्रयोगविहीन हुँदा संरचना र सामान जीर्ण हुन थालेका बताए । ‘चार–पाँच वर्षदेखि भवनहरू ताला लगाएर छोडिएका छन्, मर्मतसम्भार छैन, सामान प्रयोग भएका छैनन्,’ उनले भने, ‘अझै लामो समय प्रयोगविहीन राख्ने हो भने सामान बिग्रन्छन्, भवन मर्मत गर्नुपर्ने हुन्छ ।’ गेटामा शैक्षिक, प्रशासनिक, अस्पताल, आवास, छात्रावाससहित सानाठुला गरी ४२ वटा भवन रहेको रावलले बताए ।
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालयसम्बन्धी ऐन गत असारमा जारी भइसकेको छ । तर, सहकुलपति नियुक्त गर्ने, गेटामा सानो आकारमा भए पनि विश्वविद्यालयको इकाइ वा कार्यालय राख्नेलगायत काम भएका छैनन् । विश्वविद्यालय कहिलेबाट सञ्चालन हुन्छ भन्ने यकिन छैन ।
गेटामा मेडिकल विश्वविद्याय स्थापनाका लागि दबाब दिन गठन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले ऐन जारी भएर मात्र नहुने भन्दै पदाधिकारी नियुक्ति प्रक्रिया सरकारले तत्काल सुरु गर्नुपर्ने बताए । ‘ऐन आउनु खुसीको कुरा हो, तर सरकारले ऐन ल्याएर अल्झाउनु मात्र भएन,’ उनले भने, ‘पदाधिकारीको नियुक्ति तत्कालै गरेर सुरुमा कम्तीमा तीन सय शड्ढयाको अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्छ ।’
ऐन जारी भएको ३० दिनमा पूर्वाधार निर्माण समिति खारेज हुने र त्यहाँको सम्पूर्ण सम्पत्ति विश्वविद्यालयको हुने व्यवस्था ऐनमा छ । जसअनुसार ४ साउनदेखि समिति खारेज भएको छ । तर, समिति खारेज भइसकेको, विश्वविद्यालयका पदाधिकारी नियुक्ति नभएको र कार्यालयसमेत नरहेको अवस्थामा उक्त संरचना कसले हेर्ने भन्ने अन्योल छ ।
शिक्षा मन्त्रालयले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुई वर्षयता पूर्वाधार विकास समितिको कार्यकारी निर्देशकमा शिक्षा विकास तथा समन्वय इकाइ कैलालीको प्रमुखलाई तोकेको थियो । इकाइ प्रमुख इश्वरीप्रसाद ज्ञवालीले समिति खारेज भइसकेको र विश्वविद्यालयको अंग पनि आइनसकेकाले अहिले ‘ग्याप’को अवस्था रहेको बताए ।
यता सुदूरपश्चिम भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल आफ्नो कार्यकालभित्रै गेटामा तीन सय शय्याको अस्पताल दाबी गर्छन् । त्यसका लागि बजेट र अस्थायी दरबन्दी स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले बिहीबार गेटा अस्पतालमा आकस्मिक कक्षको उद्घाटन पनि गरे । मन्त्री पौडेलले भित्र आकस्मिक कक्ष उद्घाटन गर्दै गर्दा अस्पताल गेटबाहिर स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।
मन्त्री पौडेलले आकस्मिक कक्षको उद्घाटनसँगै अस्पतालको निरीक्षण गरे । अस्पतालका निर्देशक डा. प्रदीप यादवले अस्पतालको सेवालगायत विषयमा मन्त्रीलाई जानकारी गराएका थिए । उनले उपलब्ध उपकरणको प्रयोग गरेर सेवा दिन कर्मचारीलाई निर्देशन दिए । अस्पताल जाँदा विरोध छिचोलेर गएका मन्त्री पौडेलले आकस्मिक कक्षको उद्घाटनपछि आफैँले नेतृत्व गरेको अस्पताल आउन पनि झमेला भएको बताएका थिए ।
नेपालका सात प्रदेशमा एमबीबीएसको अध्यापन हुने शैक्षिक संस्था नभएको प्रदेश सुदूरपश्चिम मात्रै हो । डडेल्धुरामा मेडिकल कलेजको नाममा सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय सञ्चालनमा छ । त्यहाँ बिएस्सी नर्सिङ, पब्लिक हेल्थ र ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन हुँदै आएको छ । डडेल्धुरा अस्पताल तीन सय शय्यामा स्तरोन्नति नहुँदा एमबीबीएसको अध्यापन सुरु हुन सकेको छैन ।
प्रतिक्रिया