ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बडीमालिकाको विकास कार्ययोजना बनाइने, कार्यदल गठन हुँदै

बिहिबार ०५, भदौ २०८२ ०८:००

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको विकासका लागि कार्ययोजना बनाउन कार्यदल गठन गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराबाट निर्वाचित प्रदेशसभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा कार्यदल गठन गर्न लागिएको जानकारी दिए । कार्यदलको सहसंयोजक बाजुराबाटै निर्वाचित पूर्वमन्त्री एवम् प्रदेश सांसद नरेशबहादुर शाहीलाई राख्ने तयारी छ ।

त्यस्तै सदस्यहरुमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, बाजुरास्थित सम्बन्धित पालिकाका प्रमुखहरु, निजी क्षेत्रलाई समेत राखिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले कार्यदललाई बडीमालिकाको पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनको लागि तत्कालीन र दीर्घकालीन योजना पेश गर्न जिम्मेवारी दिइने बताए । त्यसका लागि विभिन्न तहका सरकार र अन्य सरोकारवाला निकायको भूमिकाबारे कार्यदलले एक महिनाभित्र सुझाव पेश गर्ने मुख्यमन्त्री शाहले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको बडीमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरुको आगामी कार्यदिशा सम्बन्धी छलफल कार्यक्रममा उनले कार्यदलले दिने सुझावका आधारमा सरकारले बडिमालिकाको विकासका कामहरु अगाडि बढाउने बताए ।

बडीमालिकाको दर्शन गरेर फर्किएको धनगढी उपमहानगरपालिका, नाटा सुदूरपश्चिम तथा होटेल व्यवसायी संघ कैलाली र कञ्चनपुरको टोलीले मुख्यमन्त्री शाहलाई उक्त कार्यक्रममा बडीमालिकाको विकाससँग सम्बन्धित मागहरु समेटेर ज्ञापनपत्रसमेत बुझाएका थिए ।

बडीमालिकाको दर्शन गर्न जाने पदमार्गमा शौचालय, आवाश गृहलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने माग ज्ञापनपत्रमा राखिएका छन् । कार्यक्रममा सहभागी सरोरकारवालाले विज्ञ समूहको टोली बनाएर बडीमालिकाको विकासको दीर्घकालीन गुरुयोजना निर्माण गर्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया