ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा खुल्दैछन् तारे होटल, पर्यटन विकासका टेवा पुग्ने अपेक्षा

शुक्रबार ११, पुष २०८२ ११:४५

धनगढी । सुदूरपश्चिम प्रदेशमा व्यवसायीक क्षेत्रले लगानीको वातावरण नरहेको भनिरहेकै बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा धमाधम स्टार होटल सञ्चालनको तयारी भएको छ । प्रदेशलाई पर्यटन गन्तव्य बनाएर मनग्य पर्यटक भित्र्याउन सकिने सम्भावना देखेर लगानीकर्ताहरुले तारे होटलमा लगानी गरिरहेका हुन् । धनगढीमा एक वर्षभित्रै सञ्चालन हुने गरी दुई वटा स्टार होटल बनिरहेका छन् भने अन्य एक–एक वटा धनगढी र चिसापानीमा स्टार होटल सञ्चालनको तयारी छ । 

होटल व्यवसायी महासंघका पर्यटन सचिव कलम बमले प्रदेशमा पर्यटक भित्र्याउन र प्रदेशमा आउने पर्यटकलाई स्टार होटल आवश्यक रहेकोले आफूले धनगढी–१, नैनादेवीमा चार तारे होटल बनाइरहेको बताए । उनले होटल सञ्चालनमा आफ्नो २५ वर्षको अनुभवलाई थप परिस्कृत गर्दै निकट भविष्यमै पाँच तारे होटल सञ्चालन गर्ने गरी तत्काल चार तारे होटल बनाइरहेको बताए । ‘बनिरहेका संरचना र सुविधा पाँच तारे होटलकै हुन्,’ उनले भने, ‘तर हामी पहिलो चरणमा चार तारे होटल चलाउँछौं । तारे होटल सनलाइट प्रालिकै नाममा सञ्चालन हुन्छ । अहिलेको होटल सनलाईट पनि निरन्तर चलिरहन्छ ।’

बमले एकल लगानीमा बनाइरहेको तारे होटलमा एक अर्ब ५० करोड लगानी लाग्ने बताए । उनले क्यासिनो, स्पा, साउनाबाथ लगायतका सेवासहितको चार तारे होटल आगामी वैशाख १ गतेबाट सञ्चालन गर्ने गरी निर्माण भइरहेको बताए । प्रदेश राजधानीमा तारे होटल सञ्चालन भएसंगै पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिनुका साथै यहाँ आउने विदेश पर्यटकको संख्या पनि बढ्ने उनले बताए ।

यसैगरी, चौलानी ग्रुप र होटल होलिडे इन एन्ड रिसोट्र्सको दुई अर्ब २० करोड लगानीमा धनगढीको मेनरोडमा पाँच तारे होटल २०८४ को सुरुवातमा सञ्चालन गर्ने गरी निर्माण भइरहेको छ । चौलानी ग्रुपको क्लब चौलानी लिमिटेड र अन्तर्राष्ट्रिय होटल सञ्जाल इन्टरकन्टिनेन्टल होटल समूह अन्तर्गतको होटल होलिडे इन एन्ड रिसोट्र्सबीच केही दिनअघि पाँच तारे होटल सञ्चालन गर्न सम्झौता भएको छ । क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसीले सुदूरपश्चिमको दीर्घकालीन आर्थिक समृद्धि, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर यो परियोजना अघि बढाइएको बताए । उनले यसबाट धनगढीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन तथा व्यवसायिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको बताए ।

होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच वटा प्रिमियम सुइटसहित ११५ वटा अत्याधुनिक अतिथि कक्षसहित अत्याधुनिक क्यासिनो, सात सय जनासम्म अट्ने सभाहल, रुफटप स्विमिङ पुल, बहुपरिकार भोजनालय, पूर्णरूपमा सुसज्जित आधुनिक व्यायाम केन्द्र, बैठक तथा सम्मेलन कक्षहरू र विशेष निजी भोजन कक्ष लगायतका सेवा रहने क्लब चौलानीका व्यवस्थापक मानबहादुर साउँदले बताए । परियोजनाको कुल लगानी २२० करोड रुपैयाँ मध्ये १४३ करोड रुपैयाँ बैंकको ऋण र ७७ करोड रुपैयाँ प्रवद्र्धकहरूको स्वलगानी रहने बताए ।

यसैगरी, सिद्धार्थ हस्पिटालिटी प्रालिले धनगढी–१३, राजपुरमा पाँच तारे होटल सञ्चालनको घोषणा गरिसकेको छ । धनगढीमा पाँच तारे होटलको संरचना निर्माण गर्नुअघि सिद्धार्थले धनगढीकै ट्राफिक चौराहामा १७ करोड रुपैयाँ लगानी गरी स्वीमिङ पुल, वाटर पार्क, फन पार्क, ब्यांकेट हल र कजेट सञ्चालनमा ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले कैलालीको टीकापुरबाट होटल व्यवसाय सुरु गरेको सिद्धार्थ हस्पिटालिटीले सातै प्रदेशको राजधानीमा पाँच तारे होटल सञ्चालन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि आफ्नो सेवा विस्तार गरिरहेको बताए ।

यसैगरी, लम्कीचुहा नगरपालिका–३, चिसापानबाट राजकाडाँलाई जालपादेवी केवलकारले जोडिरहेको आइएमई ग्रुपले पनि चिसापानीमा पाँच तारे होटल समेत सञ्चालन गर्ने गरी परियोजना अगाडि बढाइरहेको छ । मंसिर २२ गते सुदूरपश्चिम महोत्सव उद्घाटनको क्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आगामी वैशाख १ गतेदेखि जालपादेवी केबलकार सञ्चालन गर्ने र होटल, क्यासिनो, ब्यांकट हल, जिलपलाइन, स्काई साइकिल, ज्यानसङ र क्लासब्रिज जस्ता एडभेञ्चर पर्यटनको विकास गर्दै जाने लक्ष्य राखिएको बताए । करिब सात अर्ब रुपैयाँ लगानीमा सो परियोजना सञ्चालन गरिररहेको आइएमई ग्रुपले केवलकार निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

तत्काल लगानीको वातावरण नबनेको गुनासो लगानीकर्ताहरुले गरिरहेको भए पनि कैलालीमा होटल क्षेत्रमा लगानीको प्रतिस्पर्धा भइरहेको देखिन्छ । लगानी गर्नका लागि विगतभन्दा केही सहज भइसकेको होटल व्यवसायी कलम बमले बताए । ‘विगतमा जस्तो बैंकको व्याज महंगो छैन,’ उनले भने, ‘१४–१५ प्रतिशतमा रहेको ब्याज घटेर ६ प्रतिशतमा झरेको छ । सरकारले वातावरण बनाएन भनेर व्यवसायी पनि चुप लागेर बस्न सकिने अवस्था छैन । व्याज भएपनि सरकारले घटाएको छ । यो बेला व्यवसायीले लगानी गरे भने नभएको कुरा सरकारलाई भन्न सकिन्छ भनेर मैले होटलमा लगानी गरिरहेको छु ।’

कैलालीमा तारे होटल संचालनको तयारीसंगै ननस्टार होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम पनि बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जिल्लामा गतआर्थिक वर्षमा मात्रै ६४ वटा पर्यटनमुलक होटल तथा रेष्टुरेन्ट दर्ता भएको जनाएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा दुई हजार २९८ वटा पर्यटनमुलक होटल तथा रेष्टुरेन्ट दर्ता भई सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशानालयले जनाएको छ । यि होटल तथा रेष्टुरेन्टमा दुई खर्ब ९२ अर्ब ३३ करोड लगानी गरिएको छ भने एक लाख एक हजार २६१ जनालाई रोजगार दिएका छन् ।
 

प्रतिक्रिया