ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

बुधबार ०४, भदौ २०८२ ०८:५२

कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ । 

कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए । उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो । साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ । 

“गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको छ”, प्रमुख विष्टले भने । उनले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे । 

उनले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए । “यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण  गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ”, उनले भने। 

उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा रु १२ करोड १४ लाख ८२ हजार खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा रु दुई करोड ६३ लाख २० हजार खर्च भएको छ । 

प्रतिक्रिया