धनगढी । कैलाली उद्योग वाणिज्य संघ नयाँ नेतृत्वको चयनको सम्मुख छ । २३ साउनमा बसेको संघको बैठकले २८ भदौमा निर्वाचनको मिति तय गरेको छ ।
१३ भदौसम्म संघले सदस्यता नविकरणको मिति राखेको छ । निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति पनि गठन भइसकेको छ । २८ गते हुने निर्वाचनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
निर्वाचनको मिति तय भएसंगै चुनार्वी सरगर्मी पनि बढेको छ । नयाँ कार्यसमितिको लागि दाबेदारी प्रस्तुत गर्दै व्यवसायीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् । संघको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले अध्यक्षमा उम्मेदारी घोषणा गरेका हुन् ।
स्वाँर ०७५ पुसमा भएको संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । उनी उक्त निर्वाचनमा पुष्पराज कुँवरसंग ७९ मतले पराजित भएका थिए । ०७९ जेठमा भएको निर्वाचनमा भने उनी चुनाव लडेका थिएनन् ।
भदौ २८ गते हुने निर्वाचनमा प्यानलसहित चुनावी मैदानमा उत्रिन लागेको स्वाँरले बताए । ‘व्यवसायीको हकहितका लागि काम गर्ने हाम्रो प्रमुख एजेण्डा हो,’ स्वाँरले अग्रलेखलाई भने, ‘विकास, निर्माणको काम गर्नका लागि तीन तहको सरकार छ । त्यसका लागि सरकारलाई खबरदारी गर्ने काम पनि हामी गर्नेछौं ।’
स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन् । उनी वर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै, उपाध्यक्षमा लक्ष्मणराज पन्त, अनिलकुमार भुजनिया, राधिका चौधरी र सिद्धराज पनेरुको नाम टुंगो लागिसकेको स्वाँरले बताए । स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाश चन्दको नाम टुंगो लागेको छ । सदस्यको नाम टुंगो लगाउन बाँकी रहेको स्वाँरले बताए ।
अहिलेका वरिष्ठ उपाध्यक्ष ओझाले पनि प्यानलसहित चुनावी मैदानमा उत्रिएको बताए । ‘हामी व्यवसायीको हकहित र विश्वासको बाटोमा काम गर्नेछौं,’ ओझाले भने, ‘युवा जोस, उद्यमशील सोच र अनुभवी व्यवसायीको मार्गदर्शनले व्यवसायिक समृद्धिको प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका छौं ।’ व्यवसायीका समस्या समाधानका लागि नेतृत्वदायी भूमीका निर्वाह गर्ने एजेण्डा ओझाको छ ।
ओझाले आफ्नो प्यानलबाट लड्ने पदाधिकारी र सदस्यको नामबारे छलफल भइरहेको बताउँदै छिट्टै पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्ने बताए । उनको प्यानलबाट ओम बिष्ट, भीमराज ओझा (अब्बु), मनोज अग्रवाल, श्याम जोशी, दिनेश लम्साल, सुरेन्द्र कडायत, कृष्णा बिष्ट लगायतले पदाधिकारी लड्ने चर्चा छ ।
प्रतिक्रिया