धनगढी । डेउडा प्रतिष्ठानले सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई ‘ओल्को’ प्रदान गरेको छ । डेउडा प्रतिष्ठान केन्द्रीय समितिले सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसरमा ओल्को प्रदान गरेको हो ।
डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले शाब्दिक शब्दसहितको ओल्को प्रदान गरिएको जानकारी दिए ।
ओल्के पर्वामा ‘ओल्को’ बोकेर मान्यजनको दर्शनभेट, आशीर्वाद ग्रहण तथा विपद्कालमा बाँचेको खुसियालीमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विपद्कालमा बाँचेकै खुसियालीमा परापूर्वकालदेखि नै हरेक वर्ष भदौ एक गतेको सुदूरपश्चिमेलीहरुले ओल्के पर्व मनाउँदै आएका छन् ।
जानकारहरूका अनुसार परापूर्वकालमा वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समय मानिन्थ्यो । जुन समयमा बाढीपहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलने सम्भावना उच्च हुन्छ । यस्तो संकटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सक्रान्तिमा बिशु मनाउने र बाँचेको खुसियालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ ।
प्रतिक्रिया