धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाउने निर्णय पटकपटक निर्वाचन आयोगले अस्वीकार गरेपछि पार्टी संरक्षक रेशम चौधरी समूह नयाँ रणनीतिमा जुटेको छ । रेशम समूहले बेग्लै पार्टी खोल्नेसम्मको छलफल चलाएको हो ।
अध्यक्षबाट रञ्जितालाई हटाउने रेशमसमूहको पछिल्लो प्रयास थियो, राष्ट्रिय भेला । साउन १४ र १५ साउनको भेलामा नाउपाका बहुमत केन्द्रीय सदस्य सहभागी थिए । भेलाले अध्यक्षमा लालवीर चौधरीलाई चयन ग¥यो । लालवीर रेशमका बुवा हुन् भने अध्यक्ष रञ्जिता रेशमकी श्रीमती हुन् ।
निर्वाचन आयोगको २७ साउनको बैठकले भने लालवीरलाई अध्यक्ष स्वीकार गर्न नसक्ने निर्णय सुनायो । अर्थात्, रेशम समूहले नाउपा अध्यक्षबाट रञ्जितालाई हटाएर लालवीरलाई चयन गरिएको विषय अद्यावधिक गर्ने प्रयास फेरि असफल भयो ।
यसअघि २७ पुस २०८० मा टीकापुरमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट रेशम चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको थियो । तर, उक्त महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको थियो । त्यतिबेला रेशमलाई अध्यक्ष चयन गर्ने महाधिवेशनको निर्णय वैधानिक नहुने भएपछि रञ्जिताले नै निरन्तरता पाएकी थिइन् ।
पटकपटकको अध्यक्षबाट हटाउने प्रयास भएपछि अहिले रञ्जिता बदला लिन थालेकी छिन् । शुक्रबार पार्टी अध्यक्ष रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई पार्टी महासचिव र संसदीय दलको नेताको जिम्मेवारीबाट हटाएकी छिन् । पार्टीले मागेको स्पष्टीकरण पत्रको जवाफ नदिएको भन्दै चौधरीलाई कारबाही गरिएको जानकारी रञ्जिताले संघीय संसद सचिवालयमा समेत दिएकी छन् । श्रेष्ठका अनुसार, चौधरीले पार्टीको महासचिवको ओहदा नभए पनि त्यसको दाबी गर्दै पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेका छन् ।
त्यसअघि पार्टीभित्र किचलो बढ्दै गएका बेला रञ्जिताले शिव बास्तोलालाई कार्यवाहक तोकेकी थिइन् । रेशम–रञ्जिता विवाद उत्कर्षमा रहेकै बेला पछिल्लो समय रञ्जिता पोखराको लिचीघारी जग्गा प्रकरणमा मुछिएकी छिन् । त्यही मौकामा रेशम पक्षधरले केन्द्रीय कमिटीको बैठक बोलाउन गरेको आग्रहलाई रञ्जिताले नटेरेपछि उनीहरुले राष्ट्रिय भेला आयोजना गरेर उनलाई साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेका थिए ।
नागरिक उन्मुक्तिका पछिल्ला गतिविधिले आन्तरिक विवाद झनझन् चुलिदै गएको छ । रेशम दम्पतीबीचको विग्रह उत्कर्षमा पुगेपछि रेशम पक्ष अबका विकल्पका विषयमा छलफलमा जुटेको छ । रेशमले आफ्ना लागि अहिले नाउपा गौण भएर गएको बताए । ‘अहिलेकै नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने विकल्प समाप्त भएर गएको छ,’ रेशममले भने, ‘वर्तमान नेतृत्वबाट पार्टी चलेन, चल्दैन । उहाँहरुले पार्टी हत्याउने खेल मात्रै खेल्नुभयो । मलाई त हत्यारासमेत भन्न भ्याउनुभयो ।’
आफू मुद्दा र पहिचानको राजनीतिबाट उठेको बताउँदै उनले राजनीतिबाट टाढा नभाग्ने बताए । ‘मेरा पक्षमा नाउपाका नेता कार्यकर्ताहरु धेरै लडेका छन्, धेरै दुःख पाएका छन्, उनीहरुप्रति म आभारी छ,’ रेशमले भने, ‘जनताका बीचमै छौं, जनताकै मनमा छौं, अब नयाँ विकल्पका साथ अघि बढ्छौं ।’
आफूलाई परिवारवादको आरोप पनि लागेको उनको भनाइ छ । कहिल्यै श्रीमती त कहिलै बुवालाई अध्यक्ष बनाएको भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।
राष्ट्रिय भेलामा रेशम पक्षमा खुलेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी शक्ति संघर्ष, आन्तरिक खिचातानी र महात्वाकांक्षाका कारण नाउपाको राजनीतिक धरातल खस्केको बताउँछन् । ‘अहिले अलमल छ, आक्रोशित भएर तत्काल कुनै अप्रिय कदम दुवै पक्षले नउठाउनु नै पार्टी हितमा छ । रेशममाथि परिवारवादको ट्याग लागेको छ, त्यो ट्यागलाई हटाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
किचलोका बीच कार्यवाहक अध्यक्ष तोकिएका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलाले दुवै पक्षले एकअर्कालाई जोडेर जानुको विकल्प नभएको बताए । ‘रेशम पक्षले विधानबमोजिम चलिदिए पुग्छ, पटकपटक विधानविपरीत क्रियाकलाप गरिसक्नुभयो । टीकापुर महाधिवेशन र हालैको राष्ट्रिय भेलालाई निर्वाचन आयोगले अवैधानिक भन्यो,’ बास्तोलाले भने, ‘उहाँहरुबीच व्यक्तित्वको टकराव हो । तर महाधिवेशनसम्म कुर्नुको विकल्प छैन । डेढ वर्षपछि महाधिवेशन छ । महाधिवेशनमै नेतृत्व परिवर्तन गरे भइहाल्यो ।’
तर, रञ्जितालाई अध्यक्ष मानेर अघि बढ्न नसकिने भनिसकेको पृष्ठभूमिमा अब रेशमको समूह बेग्लै पार्टी गठन गरेर अघि बढ्नेबारे छलफलमा छ । त्यस अवस्थामा अहिलेको नाउपा विभाजन हुनेछ । त्यस क्रममा हाल रञ्जिताको विपक्षमा रहेका तीनजना प्रतिनिधिसभा सदस्यलाई पार्टी सदस्यबाट निष्कासित गर्न सक्ने, पुनः अदालतमा मुद्दा मामिला हुन सक्ने नाउपाका नेता कार्यकर्ताहरुको आकलन छ ।
प्रतिक्रिया