धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहेकी छिन् । हालै भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको आयोगले जनाएको छ । नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीरको नाम थिएन ।
उनी २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियामा स्वतन्त्र उम्मेदवार बनेर जितेका थिए । विजयी भएपछि मात्रै उनी नाउपामा प्रवेश गरेका थिए । ०७४ सालमा उनी एमालेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेर पराजित भएका थिए ।
लालवीर नाउपा संरक्षक रेशम चौधरीका बाबु हुन् भने रञ्जिताका ससुरा ।
प्रतिक्रिया