टीकापुर । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै मंगलबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नविनराजा बुढाथोकीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ मिलनपुर शिविरका ४५ वर्षका अतवारी चौधरी रहेका छन् ।
साइकलमा सवार रहेका चौधरीलाई बिहान ९ बजे टीकापुर बसपार्कबाट लम्कीतर्फ गइरहेको सुपप्र ०१–००१–ख ३५८३ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका चौधरीको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक चौधरी काठको काम गर्ने मिस्त्री रहेको बताइएको छ । उनी घरबाट काठको काम गर्ने भन्दै हिडेका थिए । उनले साइकलको पछाडि खाना समेत बोकेर आएको प्रहरीले बताएको छ ।
सोही घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षका राजु चौधरीलाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ ।
प्रहरीका अनुसार बसले साइकल यात्रीलाई ठक्कर दिएपछि सुपप्र ०१–१२–प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लगेको छ ।
प्रतिक्रिया