ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारमा तीन महिनामा सुरक्षाकर्मी अदली बदली हुने, प्रदेश सरकारले सुधारको काम गर्ने

सोमबार २६, साउन २०८२ ०७:४७

धनगढी । कैलाली जिल्ला कारागारमा भएको झडपमा कुटपिटबाट मृत्यु भएका कैदीबन्दीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख उपलब्ध गराउने भएको छ । आइतबार राति बसेको प्रदेश सुरक्षा समितिको बैठकले झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने निर्णय गरेको हो ।

यस्तै बैठकले कारागार घटनामा घाइते भएका कैदीबन्दीको उपचार सरकारी खर्चमा गर्ने निर्णय पनि गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्तासमेत रहेका प्रदेश सुरक्षा समितिका सदस्य सचिव आमोद दाहालले जानकारी दिए । उनका अनुसार बैठकले ११ वटा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कारागारमा हेलोजन लाइट र सिसी क्यामेरा जडान गर्ने, कारागारको छाना लगायत आवश्यक मर्मतको काम सुरु गर्ने, कारागार सुरक्षाका लागि आवश्यक उपकरण र साधन खरिद गर्ने, कारागार ऐनमा सुधारका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, कारागारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापन गर्न कारागार विभागलाई अनुरोध गर्ने निर्णय पनि भएको दाहालले जानकारी दिए ।

यस्तै, प्रदेश सरकार र कारागार प्रशासनबीच समन्वय गरि कैदीबन्दीका लागि मनो परामर्शका कार्यक्रम सञ्चालन गर्ने, कारागार सुरक्षामा खटिने सुरक्षाकर्मीलाई तीन-तीन महिनामा परिवर्तन गर्ने र प्रदेशभरका कारागारमा भोजनगृह, स्नानगृह र शौचालयको निर्माण तथा मर्मतको कार्य प्रदेशको आन्तरिक मामिला मन्त्रालयमार्फत अगाडि बढाउने निर्णय पनि भएको छ ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको विशेष उपस्थितिमा बसेको सुरक्षा समितिको बैठकमा आन्तरिक मामिलामन्त्री हिरा सार्की, तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया