धनगढी । कैलाली कारागारमा हिसांत्मक झडप भएको ३७ घण्टासम्म पनि प्रहरी प्रशासनका अधिकारी कैदीबन्दी कक्षमा प्रवेश गर्न सकेका छैनन् । कारागारको ए र बी ब्लकमा कैदीबन्दीबीच झडप भएकोमा अहिलेसम्म उक्त स्थानमा सुरक्षा अधिकारी जान नसेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारको बाहिरी सुरक्षा मात्रै गरिरहेको बताए । ‘घटनास्थलमा अहिलेसम्म हामी गएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी हमालले भने, ‘आज दिउँसो मानव अधिकार आयोगको टोली र छानबिन टोलीसहित कारागारको घटनास्थलमा जाने तयारी छ ।’
शुक्रबार राति भएको हिंसांत्मक झडपमा परी कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेमध्ये आयुश भट्टलाई थप उपचारका लागि स्काई ट्रकमार्फत शनिबार नै काठमाडौं लगिएको छ भने थप एकजनालाई आज काठमाडौं लैजाने तयारी छ ।
तर, हिंसात्मक झडपको लामो समय बितिसक्दा पनि प्रहरी प्रशासनको टोली घटनास्थलसम्म पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन । शनिबार दिउँसो मानव अधिकार आयोग सुदूरपश्चिमको टोली पनि कारागार पुगेको थियो । तर, मानव अधिकारको टोली पनि झडप भएको ब्लकमा भने पुग्न सकेको थिएन । उनीहरुले कैदीबन्दीसंग बाहिरबाटै कुराकानी गरेका थिए ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रकाश भट्टका अनुसार कैदीबन्दीहरुले स्थानान्तरण पारदर्शी नभएको गुनासो भेटका क्रममा राखेका थिए । उनीहरुले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिसंग मात्रै कुराकानी गर्ने अडान पनि राखेको निर्देशक भट्टले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग पटकपटक भेट्दा पनि समस्या समाधान नभएको भन्दै कैदीबन्दीले अब माथिल्लो तहका प्रतिनिधिलाई मात्रै भेट्न अडान राख्दै आएका हुन् ।
प्रतिक्रिया