धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भासीका विपिन जोशी सम्पर्कविहीन भएको दुई वर्ष पुग्न थालेको छ । ०८० असोजमा इजरायलमा हमास समूहको आक्रमणका क्रममा विपिन सम्पर्कविहीन भएका थिए ।
बन्धक बनाइएको भनिएका विपिनलाई हमासले न दुई वर्षसम्म सार्वजनिक गरेको छ, न त उद्धार नै हुन सकेको छ । इजरायल सरकारले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पदमा र बहिनी पुष्पालाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ ।
उनीहरूको भिसालगायतका कागजातको काम सकिएको बताइएको छ । राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ ।
हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
प्रतिक्रिया