ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सवारी संख्या सवा दुई लाख पुग्याे, एक वर्षमै थपिए ११ हजार मोटरसाइकल

बुधबार २१, साउन २०८२ ०५:२९

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक वर्षमै झण्डै ११ हजार मोटरसाइकल थपिएका छन् । यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा १० हजार ९२८ वटा मोटरसाइकल गत आर्थिक वर्षमा दर्ता भएका हुन् । 

सबैभन्दा बढी दर्ता कैलालीमा भएका छन् । कैलालीमा एक वर्षमा झण्डै नौ हजार वटा मोटरसाइकल थपिएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा आठ हजार ९८२ वटा मोटरसाइकल यातायात व्यवस्था कार्यालय धनगढीमा दर्ता भएका छन् ।

यो नयाँ दर्ता र अन्य प्रदेशबाट नामसारी भएर आएकाको संख्या रहेको मन्त्रालयले जनाएको छ । यो अवधिमा तीन पाङ्ग्रे, चार पाङ्ग्रेसहित मोटरसाइकलबाहेक अन्य तीन हजार ४५९ वटा यातायातका साधन दर्ता भएका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा छ हजार १३० वटा मोटरसाइकल र एक हजार ९८५ वटा मोटरसाइकलबाहेक अन्य यातायातका साधन दर्ता भएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा एक हजार ७२६ वटा दुई पाङग्रे र दुई सय ७३ वटा चार पाङ्ग्रे यातायातका साधन दर्ता भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी बरिष्ठ इन्जिनियर नरेश शर्माले जानकारी दिए । 

उक्त अवधिमा डडेल्धुरामा ४३ वटा मोटरसाइकल र ५६ वटा चार पाङ्ग्रे साधन तथा डोटीमा एक सय ७७ वटा मोटरसाइकल र १६ वटा चार पाङ्ग्रे यातायात साधन जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा दर्ता भएका शर्माले बताए । मोटरसाइकल दर्ता संख्या सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा छ ।

गत आर्थिक वर्षमा प्रदेशभरी १४ हजार ७३२ वटा यातायातका साधन दर्ता भएका सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

प्रदेशभरि हालम्म दुई लाख २१ हजार ४६४ वटा यातायातका साधन दर्ता भएको विवरण छ । गत आर्थिक वर्षमा १८ हजार ५४५ जनाले सवारी चालक अनुमतिपत्र लिएका र १९ हजार ३९९ जनाले सवारी चालक अनुमतिपत्र नविकरण गराएका प्रदेश सरकारको विवरणमा उल्लेख छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा यातायात व्यवस्था कार्यालयले सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया