धनगढी । अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यबाटै हटाएको नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्दैछ । राष्ट्रिय भेलाले आज अध्यक्षसहित पदाधिकारीको टुङ्गो लगाउने तयारी छ ।
बिहान ११ बजे तोकिएको भेला सुरु भइसकेको छैन । अध्यक्षमा लालबीर चौधरी, गंगा चौधरी र रामलाल डगौरा थारुको चर्चा छ । लालबीर रेशमका बुवा हुन् । लालबीर र गंगा प्रतिनिधिसभा सदस्य तथा डगौरा पार्टीको अनुशासन आयोगको अध्यक्ष र टीकापुर नगरपालिकाका प्रमुख हुन् । स्रोतका अनुसार रेशमले बुवा लालबीरलाई अध्यक्ष बनाउन चाहेका थिए ।
‘२१ जना संस्थापक केन्द्रीय सदस्यभन्दा बाहिरबाट अध्यक्ष चयन गर्दा निर्वाचन आयोगले मान्यता नदिन सक्छ भनेर संस्थापक केन्द्रीय सदस्यमध्येबाटै अध्यक्ष बनाउनेबारे छलफल भइरहेको छ,’ एक जना केन्द्रीय सदस्यले भने । उनका अनुसार निर्वाचन आयोगले मान्यता नदिन सक्ने संभावनालाई ध्यानमा राखेर २१ जनाभित्रैबाट अध्यक्ष बनाउने गरी छलफल भइरहेको छ ।
नागरिक उन्मुक्तिका नेता केवल चौधरीले संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितलाई अध्यक्ष बनाउने प्रस्ताव गरिए पनि उनले इच्छा नदेखाएको बताए । ‘दामोदरजीलाई अध्यक्ष बनाएर जाने भन्ने थियो तर उहाँले इच्छा देखाउनु भएन’ भजनी नगरपालिका प्रमुख समेत रहेका चौधरीले भने, ‘अन्य तीन जनाको नाम आएको छ । कसलाई बनाउने भन्ने निर्णय आज भेलाले गर्ला ।’
रामलाल, लालबीर र गंगामध्येबाट एक जना अध्यक्ष बन्ने संभावना बलियो रहेको नागरिक उन्मुक्तिका नेताहरुले बताएका छन् । पूर्वमन्त्री एवम् नागरिक उन्मुक्तिका नेता रामेश्वर चौधरीले सहमतिकै आधारमा अध्यक्ष चयन हुने बताए ।
रञ्जिताले भने भेलामा सहभागी छैनन् । उनले राष्ट्रिय भेला विधानविपरीत बोलाएको भन्दै आयोगलाई नयाँ कार्यसमितिलाई मान्यता नदिन आग्रह गरिरहेकी बताइएको छ। श्रेष्ठले अवैध रुपमा बोलाएको भेलाको निर्णय कानुनसम्मत नहुने दाबी गरेकी छन् । अवैध भेलाको निर्णयलाई निर्वाचन आयोगले पनि स्वीकार नगर्ने उनको तर्क छ ।
प्रतिक्रिया