ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नागरिक उन्मुक्तिको राष्ट्रिय भेला जारी, अध्यक्ष रञ्जितालाई हटाउने तयारी

बुधबार १४, साउन २०८२ ०२:४०

धनगढी । नागरिक उन्मुक्तिमा लामो समयदेखि पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच चलिरहेको  शक्ति संघर्षका बीच  नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला काठमाण्डौंमा चलिरहेको छ ।

भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई कार्वाही गर्ने अनुशासन समितिको निर्णयलाई अनुमोदन गर्दै नयाँ अध्यक्ष तोक्ने तयारी भइरहेको नाउपाका एक नेताले बताए । 
पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्न बहादुर बुढा र सुनिता चौधरी सदस्य छन् । सुनिता चौधरी भने आर्थिक अनियमितता प्रकरणमा हाल कञ्चनपुरमा थुनामा छिन् । सोही समितिले कार्वाही गर्ने निर्णय गरेको हो ।

बहुमत केन्द्रिय सदस्यहरुले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठले स्पष्टीकरण नबुुझाएपछि कार्वाही गर्ने निर्णय गरिएको ती सदस्यले बताए । केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरुले  गत शुक्रबार २४ घण्टे अल्टिमेटम दिएका थिए ।   

आइतबारकै बैठकले आज बुधबारका लागि राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको थियो । सोही अनुसार यतिबेला नागरिक उन्मुक्ति पार्टीको भेला चलिरहेको संस्थापक केन्द्रिय सदस्य आलोक चौधरीले बताए । उनका अनुसार संस्थापक केन्द्रिय सदस्य र निर्वाचित जनप्रतिनिधिहरु भेलाका सदस्य हुन्छन् । ‘भेलामा कार्वाहीबारे छलफल हुने र कार्यकारी अध्यक्ष कसलाई तोक्ने भन्ने निक्र्यौल हुन्छ होला,’ चौधरीले भने ।

विवादका बीच अध्यक्ष श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकि थिइन् ।
 

प्रतिक्रिया