ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
साढे १५ अर्ब व्यापार घाटा

कैलालीको त्रिनगर नाकाबाट एक अर्बको निर्यात, साढे १६ अर्बको आयात

बुधबार १४, साउन २०८२ १०:४७

धनगढी । कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट एक अर्ब १४ करोडको कच्चा पदार्थ निर्यात हुँदा १६ अर्ब ६६ करोडको तयारी मालसामान आयात भएको छ । त्रिनगर नाकास्थित कैलाली भन्सार कार्यालयले गतआर्थिक वर्ष २०८१÷८२ मा १५ अर्ब ५१ करोड ९९ लाख १४ हजार १७९ रुपैयाँ भारतसंग व्यापार घाटा भएको जनाएको छ । 

सो वर्ष नेपालबाट रोजिन, खयर कत्था, टर्पेन्टाइन, वेलकेक, तर कत्था, प्लाई बनाउने भेनिर सिट, खली ढुंगा, जडिबुटी लगायतका एक अर्ब १४ करोड ८३ लाख ४० हजार १७७ रुपैयाँमा कच्चा पदार्थ निर्यात भएको थियो भने भारतबाट पेट्रोलियम पदार्त, कृषि उपज, तयारी खाद्य, हार्डवेयरका सामाग्री, प्लाई लगायतका १६ अर्ब ६६ करोड ८२ लाख ५४ हजार २५६ रुपैयाँको तयारी सामान भित्रिएको थियो ।

भन्सार कार्यालयका कम्प्युटर अधिकृत यज्ञराज जोशीले निर्यातबाट एक करोड ५५ लाख २३ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको बताए । उनले आयतबाट छ अर्ब ७९ करोड ४९ लाख ८२ हजार ७४ रुपैयाँ राजश्व संकलन भएको बताए । 

यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा नेपालबाट भारततर्फ ८२ करोड ३३ लाख ३८ हजार १५५ रुपैयाँको कच्चा पदार्थ निर्यात हुँदा ३५ लाख ३७ हजार ३४६ रुपैयाँ राजस्व संकलन भएको थियो । १५ अर्ब ९५ करोड ३२ लाख एक हजार ५४ रुपैयाँको सामान आयात हुँदा छ अर्ब ४० करोड ४२ लाख पाँच हजार ४६१ रुपैयाँको राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार आर्थिक ०८०÷८१ भन्दा ०८१÷८२ मा आयात र निर्यात दुबै वृद्धि भएको छ । भन्सारका कम्प्युटर अधिकृत जोशीले अघिल्लो वर्षभन्दा गतवर्ष ३२ करोड ५० लाख दुई हजार २२ रुपैयाँको बढीको कच्चा पदार्थ निर्यात भएको बताए । उनले आयात पनि ३९ करोड ३५ लाख ५४ हजार ३५४ रुपैयाँले बढेको बताए ।

भन्सार कार्यालयको तथ्यांकअनुसार डिजल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन, कागज, बिटुमिन, टायर, चामल, आलु, बेकरी, फुड सप्लिमेन्ट र साबुन आयात वृद्धि भएको छ भने दालमोठ तथा नमकिन, फिनिसिङ सेरामिक्स, ग्रेनाइट, पापड, पास्ता, ब्लांकेट तथा ट्राभल रग्स आयात घटेको छ ।

यसैगरी, अघिल्लो वर्ष नेपालबाट भारततर्फ १० प्रकारका कच्चा पदार्थ मात्रै निर्यात भएकोमा गतवर्ष १२ प्रकारका कच्चा पदार्थ निर्यात भएको छ । भन्सारको तथ्यांकअनुसार खयर खत्था, खयरको तरल कत्था, मसाला निर्यात घटेको छ भने अत्तरका लागि प्रयोग हुने जडीबुटी, साबुनका लागि प्रयोग हुने प्राकृतिक स्टेटाइट टाल्क ढुंगा र पाउडर पनि निकास भएको छ ।

प्रतिक्रिया