डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकामा प्राविधिक पदमा कार्यरत कर्मचारी कृष्णदत्त चटौतको निधन भएपछि शोक बिदा दिइएको हो ।
खानेपानी तथा सरसफाइ टेक्निसियन पदमा कार्यरत चटौतको साउन १३ गते मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ । उनको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टद्वारा जारी सूचनामा राष्ट्रसेवक कर्मचारीका रूपमा चटौतको योगदान सदैव स्मरणीय रहने जनाइएको छ ।
शोकमा बुधबार एक दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थाहरू बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया