ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कृषि उपजमा परनिर्भरता, त्रिनगर नाकाबाट मात्रै झण्डै तीन अर्बको आयात

मङ्गलबार १३, साउन २०८२ ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेशको मुल नाकाको रुपमा रहेको कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट एक वर्षमा झण्डै तीन अर्ब रुपैयाँको कृषि उपज आयात भएको छ । आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ७० करोड २७ लाख ५४ हजारको कृषि उपज भित्रिएको हो ।

कैलाली भन्सार कार्यालयका अनुसार एक अर्ब ४६ करोड ३९ लाख ६० हजारको खाद्यान्न, ५९ करोड ७४ लाख ४६ हजारको फलफूल र ६४ करोड १३ लाख ४८ हजारको तरकारी भित्रिएको छ । त्रिनगर भन्सार नाकाबाट आयात हुने सामाग्री प्रदेशका नौ वटै जिल्लामा पुग्ने गरेको छ । 

विभिन्न अध्ययन प्रतिवेदनहरुले प्रदेशमा खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा वृद्धि भइरहेको देखिए पनि भन्सारको कृषि उपज आयातको तथ्यांकले ती अध्ययनको आधिकारिकतामा समेत प्रश्न उठाएको छ । यस्तै, स्थानीय, प्रदेश र संघीय सरकारले कृषि क्षेत्रमा गरेका बजेट खर्चको उपादेयतामा समेत अर्थविज्ञले प्रश्न उठाएका छन् ।

कृषि उत्पादनको आयात वृद्धिले कृषि क्षेत्रको बजेट अनुत्पादक क्षेत्रमा लगानी भइरहेको संकेत गरेको सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक उपप्राध्यापक डा. राजेन्द्रबीर चन्दले बताए । ‘कृषि क्षेत्रमा वितरण गरिने अनुदान नेता, मन्त्रीका आसेपासेलाई वितरण भइरहेको छ,’ उनले भने, ‘यस किसिमको अनुदानले कृषि उत्पादन बढाउन मद्दत गर्दैन । कृषि अनुदान उत्पादनको आधारमा मात्रै वितरण गरिनुपर्छ र कृषि क्षेत्रको बजेट नयाँ प्रविधि भित्र्याउन, सिँचाइ पूर्वाधार विकास गर्नमा खर्च गरिनुपर्छ  । तर यो भइरहेको छैन । जसका कारण कृषि उत्पादनमा समेत परनिर्भरता बढिरहेको छ ।’

भन्सारको तथ्यांकअनुसार त्रिनगर नाका भएर आउने कृषि उत्पादन हरेक वर्ष वृद्धि हुँदै आएको छ । तथ्यांकअनुसार सो नाकाबाट ८९ करोड ६४ लाख ६७ हजारको १२ हजार ६५१ टन मसिनो चामल आयात भएको छ भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ६६ लाख ५३ हजारको ५९० टन मसिनो आयात भएको थियो । अघिल्लो वर्षभन्दा गतवर्ष मसिनो चामल आयात २१ गुणाले वृद्धि भएको हो । 


गतवर्ष चार करोड ९७ लाख ५४ हजारको ४०५ टन मोटो चामल समेत आयात भएको छ । यो वर्ष चार करोड ८२ लाख ४९ हजारको एक हजार १३५ टन धान समेत आयात भएको छ । मोटो चामल आयातबाट ५७ लाख ३१ हजार, मसिनो चामल आयातबाट पाँच करोड ५८ लाख ४८ हजार र धान आयातबाट ३६ लाख १९ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

उक्त नाकाबाट गतवर्ष मसिनो चामलपछि दोस्रो ठुलो परिमाणमा मकै आयात भएको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार गतवर्ष ३१ करोड ७८ लाख २६ हजारको सात हजार ३३६ टन मकै आयात गरिएको छ । त्रिनगर नाकाबाट तेस्रो ठूलो परिमाणमा तोरी आयात हुने गरेको छ । गतवर्ष १० करोड २० लाख ५६ हजारको एक हजार २२८ टन तोरी आयात भएको छ । प्रदेशमा रहेका तोरीको तेल उत्पादन गरी प्याकेजिङ गर्ने फ्याक्ट्रीहरुले भारतबाट तोरीको दाना आयात गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी, कुखुराको दाना बनाउने फ्याक्ट्रीहरुले मकै आयात गर्ने गरेका छन् ।

प्रदेशको तराइमा केराको पकेट क्षेत्र नै स्थापना गरी केरा उत्पादन भइरहेका छन् । कैलालीको टीकापुर नगरपालिकाले केरा उत्पादनमा आत्मनिर्भर मात्रै नभई प्रदेशभरि सप्लाई समेत गरिरहेको दाबी गरेको छ । तर पनि त्रिनगर नाकाबाट १५ करोड ६० लाख ३१ हजारको तीन हजार ७९४ टन केरा आयात भएको छ ।

१८ करोड ४८ लाख १९ हजारको दुई हजार २५३ टन अंगुर, एक करोड पाँच लाख ८१ हजारको १६३ टन अमला, ७९ लाख ८६ हजारको ८१ टन कागती, ११ करोड दुई लाख ८५ हजारको ९६३ टन अनार आयात भएको छ ।

यसैगरी, स्थानीय किसानले सिजनमा उत्पादन गरेको खरभुजा बजार नपाएर सड्ने गरेको छ भने भारतबाट गतवर्ष दुई करोड ५२ लाख १५ हजारको एक हजार १३ टन खरभुजा आयात भएको छ । बजार पुग्ने बाटो नपाएर सुदूरपश्चिमको पहाडमा उत्पादन भएको स्याउ र सुन्तला पनि पहाडमै सड्ने गरेको छ । तर, भारतबाटै आयात गरेर स्याउ र सुन्तालको बजारको मागलाई परिपूर्ति गरिन्छ । गतवर्ष मात्रै छ करोड १८ लाख ६६ हजारको ९४२ टन सुन्तला र दुई करोड ८९ लाख १५ हजारको ३५१ टन स्याउ आयात भएको कैलाली भन्सारले जनाएको छ ।

केही दिन पहिले कैलालीको टीकापुरका एक किसानले बजार भाउ नपाएर स्टोर गरी राखेको प्याज सडेपछि नष्ट गरेका थिए । तर, बजारमा भारतबाट ल्याएका प्याज बिक्री भइरहेको छ । गतवर्ष मात्रै त्रिनगर भन्सार नाकाबाट १२ करोड ५५ लाख ९२ हजारको दुई हजार ८३३ टन प्याज भित्रिएको छ । 

यसैगरी, ३८ करोड ६५ लाख ७९ हजारको १५ हजार ७३४ टन आलु र दुई करोड ७२ लाख ३५ हजारको एक हजार ८९ टन टमाटर आयात भएको छ । त्रिनगर नाकाबाट काउली, बन्दा, गाजर, मुला, काँक्रा, च्याउ, फर्सी, सकरखण्ड, खुर्सानी, बोडी, केराउ लगायतका तरकारी आयात हुने गरेको छ ।

कृषि उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन गर्न नसकेको कारणले स्वदेशमा उत्पादन भइरहेको तरकारी, फलफूल र खाद्यान्नले बजार पाउन सकेको छैन । ढुवानी तथा भण्डारणको उचित प्रवन्ध नहुँदा स्वदेशी उत्पादन खेर जानुका साथै अपुग मागलाई परिपूर्ति गर्न भारतबाट आयात गर्नु परेको छ । डा चन्दले कृषि उत्पादन वृद्धि गर्नका लागि सिँचाइ सुविधा बढाउनुका साथै युवा जनशक्ति पलायन हुनबाट रोकी कृषि कर्ममा लगाउन नयाँ प्रविधिको विकासमा कृषि क्षेत्रको बजेट खर्च गरिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ वार्षिक अर्बौं रुपैयाँ अनुदान वितरण गर्दै आएको छ ।

प्रतिक्रिया