धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले १५ गते विश्वासको मत लिने भएका छन् । साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
सोमबार नेपाली काँग्रेस संसदीय दलको बैठक बसेकाे थियाे । दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दलको बैठकले पक्षमा मतदान गर्न ह्वीप पनि जारी गरेको छ ।
२० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिना कारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रदेशसभामा सात जना सासंद भएको उन्मक्तिले सरकारबाट समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहलाई सांख्यिक रूपमा केही फरक पर्दैन । सरकार टिकाउन २७ जनाको समर्थन आवश्यक रहेकोमा काँग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन मुख्यमन्त्री शाहलाई यथावत छ । जसका कारण एमालेको समर्थन रहेसम्म मुख्यमन्त्री शाहको कुर्सी सुरक्षित छ ।
सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा व्यवस्था छ ।
प्रतिक्रिया