ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

मङ्गलबार ०६, साउन २०८२ ०५:०९

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिन्छन्, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उनले आफ्नो परिवार चलाइरहेका छन् ।

करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उनी सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे । उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उनी घर फर्किए । “घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो”, उनले भने, “विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।”

श्रीमती लक्ष्मीका साथमा उनी चिया, समोसा र पकौडा बनाउँछन् । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउँछन् । त्यसमा उनका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन् ।

दैनिक २०० सहकारीमा बचत गर्ने उनले वार्षिक एक लाखसम्म बचत गर्ने गरेका छन् । उनको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेको छैन । “विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले”, उनी विगतलाई सम्झँदै भन्छन्, “विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।”

सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए । “हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ”, स्थानिय युवा सुरेश विक भन्छन्, “स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको सङ्घर्ष अनुकरणीय छ ।”

उनका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हटेको छैन । उनले भने, “तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उहाँलाई रुचाउँछन् ।” रासस

प्रतिक्रिया