ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
३२ वर्षमा एउटै वडाका ३० जना बेपत्ता

महाकालीमा बग्दैछन् दार्चुलावासीका सपना

सोमबार ०५, साउन २०८२ ११:२२

धनगढी । अघिल्लो साता मंगलबार दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी उपभोग्य वस्तु किनमेलका लागि भारतीय बजारतर्फ लागे । भारतीय बजार पुग्न महाकाली नदी तर्नुपर्ने थियो । नदीमा पुल थिएन ।

अस्थायी रुपमा राखिएको तुइनमार्फत नदी तर्ने क्रममा बुढाथोकी महाकालीमा खसेर बेपत्ता भए । भारतपट्टि तुइन बाँधिएको खम्बा भाँचिदा उनी महाकालीमा खसेका थिए । उनीसंगै उनले साँचेर राखेका सपना पनि महाकालीमै बिलाएका छन् । 

०००
०७९ असार तेस्रो साता व्यास गाउँपालिका–२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन, तेल लगायतका उपयोग्य सामान सकिएको थियो । सधैँ जस्तै उनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने भयो ।

त्यहाँ पुग्न उनलाई एक घण्टा समय लाग्ने गरेको थियो । सचिन मात्रै नभएर भारत आउँजाउँ गर्दा तुइनमार्फत महाकाली तर्नुपर्ने बाध्यता दुम्लिङवासीको छ । तुइनमार्फत महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घर फर्किन लागे ।

फर्किदा पनि महाकाली नदीमा सहारा त्यहीँ तुइनकै थियो । महाकाली नदीको बीचमा पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो । तुइनसंगै १८ वर्षीय सचिन पनि उर्लंदो महाकालीमा बेपत्ता भए । सोही महाकाली नदीमै बग्यो सचिन र उनको परिवारको सपना पनि । 

०००
२१ पुस २०७९ मा दार्चुलाको व्यास गाउँपालिका–४ डोकटकी राइमती बिष्ट घाँस काट्न गइन् । घाँस काट्नका लागि उनले भारत जानुपर्ने थियो । तर, महाकाली तर्न भने पुल थिएन ।

सधैँ जस्तै उनले अस्थायी तुइनमार्फत महाकाली पार गरिन् । राइमती तुइनमार्फत महाकाली तरेर रोडसम्म पुग्दा उनले १० वर्षीय आफ्नै छोरा दीपक तुइत तरिरहेको दृश्य देखिन ।

हतारहतार रोडबाट तुइनसम्म पुग्दा दीपक भने तुइनबाट खसेर महाकाली नदीमा बगे । घरबाट घाँस काट्न मेलातर्फ हिँडेकी राइमतीले दीपक पनि पछिपछि लागेको पत्तै पाएकी थिइनन् ।

०००
०७८ साउन १५ गते व्यास गाउँपालिकाकै वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामी सदरमुकाम जान लागेका थिए । सदरमुकाम खंलगा पुग्न महाकाली तरेर सुरुमा भारत पुग्नुपर्ने थियो ।

महाकाली तर्न पुल थिएन । विकल्पका रुपमा मालघाटमा थियो, तुइन । धामीलाई पारि पुगाउने जिम्मा लिए, तुइन सञ्चालक कल्याणसिंह धामीले । तर जयसिंह पारि पुग्न पाएनन् । उनी महाकालीमा खसेर बेपत्ता भए । पारी (भारततर्फ) बाँधिएको तुइनको फेरो भारतीय सीमा सुरक्षा बलका जवानले फुकालेपछि जयसिंह बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएपछि विदेश गएर परिवार पाल्ने उनको सपना पनि महाकाली नदीमै बिलायो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबीलाई दोषी देखायो । संलग्नलाई कारबाही गर्न पनि छानबिन समितिले सरकारलाई आग्रह गरेको थियो । तर, अहिलेसम्म पीडित परिवारले न्यायको अनुभुति गर्न पाएको छैन । जयसिंह पनि भेटिएका छैनन् । 

पछिल्लो ३२ वर्षमा एकै वडाका ३० जना बेपत्ता
आफ्नै जिल्ला सदरमुकाम पुग्नका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता दार्चुलाको व्यासवासीलाई छ । भारतीय मार्ग प्रयोग गर्नुअघि महाकाली तर्नुपर्छ । महाकालीमा पुल पर्याप्त नहुँदा ठाउँठाउँमा तुइन बनाइएको छ । तर, तुइनकै कारण कयौंका सपना महाकालीमा बगेका छन् । पछिल्लो २९ वर्षको अवधिमा व्यास गाउँपालिका वडा नम्बर २ मा रहेका तुइन तर्ने क्रममा मात्रै ३० जना बेपत्ता भएका छन् ।

 ०७८ साउनमा जयसिंह धामी बेपत्ता भएपछि गाउँपालिकाले तथ्याङ्क संकलन गर्दा ३० जना तुइन तर्ने क्रममा बेपत्ता भएको भेटिएको व्यास गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

‘२०५० सालदेखिको तथ्याङ्क संकलन गरेको छौं,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘३० जना महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका छन् । बेपत्तामध्ये अधिकांशको शव पनि फेला परेको छैन ।’ तुइन तर्दा अन्य वडाका थुप्रै बासिन्दा पनि महाकालीमा बिलाएका छन् । तर, अधिकांशको शव पनि फेला नपरेको वडाध्यक्ष बुढाथोकीले बताए । 

कहिले होला तुइनमुक्त देश ? 
मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा भएको १० वर्ष पुगेको छ । केपी शर्मा ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् बैठकबाट मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने निर्णय गराएका थिए । तर, दार्चुलामा तुइनमार्फत नदी तर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन । 

दार्चुलामा सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा महाकाली तर्न अझै आधा दर्जन तुइन राखिएका छन् । व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई अझै किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नु पर्ने बाध्यता छ । आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा गरिएको छ । 

प्रतिक्रिया