ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पतालको गेटमा कसले झुण्ड्यायो कालो ब्यानर

बुधबार ३२, असार २०८२ ०१:१४

धनगढी । डडेल्धुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुबाट हटाएको भन्दै विरोध हुन थालेको छ । हजारौं बीमीतलाई स्वास्थ्य बिमा कार्यक्रमबाट बञ्चित हुने गरी प्रथम बिन्दुबाट हटाइएको भन्दै विरोध हुन थालेको हो । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गर्दै विरोध गरेका छन् भने अन्य दलका नेताहरु र सर्वसाधारणले पनि प्रथम सेवा बिन्दु कायम गर्न माग गरेका छन् । 

यस्तै, बोलन्या थलीले अस्पतालको मुख्य प्रवेश गेटमा कालो ब्यानर लगाएको छ । बोलन्या थलीका अध्यक्ष यादव जोशीले स्वास्थ्य बिमाको प्रथम बिन्दु हटाएको विरोधमा कालो ब्यानर राखिएको बताए । 

स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको थियो । प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बिमा सुविधा पाउने जानकारी अस्पतालले गरेको छ । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ ।

यस्तै, नेपाली काँग्रेसका नेताकार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवालाई प्रथम सेवा बिन्दुबाट हटाइएको भन्दै ध्यानाकर्षण गराएका छन् । पूर्वमन्त्री गोविन्दराज बोहराको नेतृत्वमा देउवा निवास गएको टोलीले डडेल्धुरा अस्पताललाई फेरि स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुमा कायम गर्न माग गरेका थिए । देउवाले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेर सोबारे बुझेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए । 

‘तीन महिनाका लागि डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दु कायम गर्ने र त्यसपछि प्रत्येक स्थानीय तहमा एउटा प्रथम बिन्दु बनाएर डडेल्धुरा अस्पताललाई रेफरल अस्पताल बनाउने तयारी भइरहेको स्वास्थ्यमन्त्रीले जानकारी गराउनुभएको थियो,’ ऐरले भने ।

प्रतिक्रिया