ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतबाट धनगढीमा नक्कली चुरोटको तस्करी, त्यहीँ लगाइन्छ अन्तःशुल्क स्टिकर

मङ्गलबार ३१, असार २०८२ ०५:०२

धनगढी । जेठ अन्तिम साता आन्तरिक राजश्व कार्यालय धनगढीले बजार अनुगमनको क्रममा स्थानीय व्यापारीबाट बजारमा नक्कली चुरोट बिक्री भइरहेको सूचना पायो । कार्यालयले त्यसको जानकारी स्थानीय प्रशासनलाई गरायो ।

सोही सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमाबाट नक्कली चुरोट भित्रिरहेको विषयमा अलर्ट गरेको थियो । सशस्त्र प्रहरी बल नम्बर ३४ गण, हेडक्वाटर कैलालीले धनगढीको २ नम्बर घाटबाट असार ५ गते पाँच डण्डा खुकुरी चुरोट बरामद गरेको थियो ।

नेपालमा उत्पादन हुने खुकुरी चुरोटसंग हुबहु मिल्ने चुरोट नेपाल भित्रिदै गरेको अवस्थामा भेटिएपछि जाँच गर्दा सो चुरोट नक्कली रहेको पुष्टि भयो । चुरोटको बट्टामा नेपालीमै लेखिएको नेपाली सक्कली चुरोटसंग सबै मेल खाए पनि आन्तरिक राजश्व कार्यालयको अन्तःशुल्क स्टिकर मेल नखाएको नम्बर ३४ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीश जोशीले बताए । उनले नेपाली सक्कली खुकुरी चुरोटमा टाँसिएको अन्तःशुल्क स्टिकर राम्रो र चम्किलो देखिने तथा नक्कली चुरोको स्टिकर मधुरो देखिने गरेको बताए ।

नम्बर ३४ गणले नक्कली चुरोट बरामद गर्दा सीमाका भारतीय बजारबाट तस्करी गरी ल्याउँदै गरेको व्यक्तिले प्रहरी देखेपछि सामान छोडेर भागेको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले राजश्व र मानव स्वास्थ्यमा नोक्सानी हुने गरी नक्कली चुरोट तस्करी गरी ल्याउँदै गरेको भेटिएमा तस्करसहित पक्राउ गर्न आदेश रहेको बताए । उनले कैलालीमा सशस्त्र प्रहरीले असारमै भारतबाट ल्याइदै गरेको नक्कली चुरोट दुई पटक बरामद गर्दा तस्करलाई पनि पक्राउ गर्ने प्रयास गर्दा क्यारिङ गर्ने व्यक्ति छोडेर भागेको बताए ।

धनगढीको २ नम्बर घाटबाटै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरले असार २५ गते पाँच डण्डा नक्कली खुकरी चुरोट बरामद गरेको थियो । असार ६ गते सशस्त्र प्रहरीको डोके बजार बीओपीले एक डण्डा नक्कली चुरोट बरामद गरेको थियो ।

नेपाल भारत सीमानामा बरामद गरिएका खुकुरी ब्राण्ड जस्तै देखिने नक्कली चुरोट सशस्त्र प्रहरीले बरामद गरी कैलाली भन्सार कार्यालयलाई बुझाएको छ । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेज रावलले सशस्त्र प्रहरीले ११ डण्डा नक्कली खुकुरी चुरोट भन्सार कार्यालयलाई बुझाएको बताए । उनले सशस्त्र प्रहरीले २५ हजार, १२ हजार पाँच सय र चार हजार मूल्य बजारको नक्कली खुकुरी चुरोट बेवारिसे अवस्थामा बरामद गरी बुझाएको बताए । उनले अन्तःशुल्क नक्कली भेटिएको हुनाले आन्तरिक राजश्वसंग जोडिएको विषय भएको बताउँदै भन्सारले आन्तरिक राजश्व कार्यालय धनगढीलाई सो चुरोट बुझाउने तयारी गरेको बताए ।

चोरी तस्करी गरी ल्याएकोले भन्सारले समेत सो विषयमा आफ्नोतर्फबाट अध्ययन अनुसन्धान गरिरहेको  भन्सार अधिकृत रावलले बताए । सशस्त्र प्रहरीले भन्सार नाका आसपासबाटै सो चुरोट बरामद गरेको बताउँदै उनले सूर्ति र सूर्तिजन्य कुनै पनि प्रकारको सामान आयात गर्न नपाइने बताए । नक्कली चुरोटको चोरी तस्करी गरी भन्सार राजश्वका साथै आन्तरिक राजश्वमा समेत असर पार्ने कार्य भइरहेको बताए ।

आन्तरिक राजश्व कार्यालय धनगढीका सूचना अधिकारी छत्र माझीले कार्यालयले धनगढीको विभिन्न ठाउँमा बजार अनुगमन गर्दा नक्कली चुरोट बिक्री भइरहेको नपाएको बताए । उनले नक्कली चुरोट खोज्नका लागि पनि कैयौं पटक अनुगमन गरेको बताए । ‘धनगढीको मेन बजारदेखि गेटासम्मको पसलहरुमा हामीले नक्कली चुरोट खोज्यौं,’ उनले भने, ‘यतातिर भेटिएको छैन । ग्रामीण क्षेत्रतिर हामी जान सकेका छैनौं । सशस्त्र प्रहरीले सीमानाबाट बरामद गरेको छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि बजार अनुगमन गर्दा चुरोट पनि नक्कली छ की भनेर हेर्ने गरेको जनाएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरन जोशीले बजार अनुगमन गर्दा चुरोट समेत चेकजाँच गर्नुका साथै बजार नेपाल प्रहरी र सीमानामा सशस्त्र प्रहरीलाई नक्कली चुरोट नियन्त्रणका लागि पत्राचार गरिएको बताइन् ।

सशस्त्र प्रहरीले सीमामा तस्करी गरी नेपाल पैठारी गरिरहेको नक्कली चुरोट भारतमै उत्पादन हुने गरेको अनुमान गरेको छ । भारतमै नेपाली ब्राण्डको चुरोटसंग हुवहु वट्टा मिल्ने गरी उत्पादन भएको हुनसक्ने सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

‘धेरै पहिले नै सशस्त्र प्रहरी हेडक्वाटरबाट नक्कली चुरोट नेपाल भित्रिरहेको जानकारी आए पनि मधेशतिर घटना भएकाले हामीले खासै कडाई गरेका थिएनौं,’ उनले भने, ‘तर, यता पनि नक्कली चुरोटको चोरी पैठारी भइरहेको सूचना पाएपछि कडाई ग¥यौं । त्यसपछि बरामद पनि भयो । बरामद भएपछि फोटोसहित मातहतका सबै कार्यालयलाई मानिस सहित पाक्रउ गर्न अलर्ट गरेका छौं । सीमाना खटिएका सशस्त्र प्रहरीले हरेक सामान कडाईका साथ चेकजाँच गरिरहेका छन् ।’
 

प्रतिक्रिया