ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

छाउगोठमा खोसिन्छन् सुदूरका युवतीका सपना

मङ्गलबार ३१, असार २०८२ ११:१०

धनगढी । २३ साउन २०८० मा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि छाउगोठमै मृत्यु भएको थियो । सर्पले डस्दा चन्दले पनि कलिलैमा ज्यान गुमाएकी थिइन् । महिनावारी भएपछि उनी चार दिनदेखि गोठमा सुत्दै आएकी थिइन् । सर्पले टोकेपछि पनि उनलाई उपचारका लागि अस्पताल लगिएन । परिवारका सदस्यले वैद्यलाई बोलाउन जाँदा चन्दको उपचार नपाएरै ज्यान गएको थियो । 

०८१ असारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका– २ मा एक १६ वर्षीया किशोरी छाउगोठमै बलात्कृत भइन् । छाउगोठमा सुतिरहेकी उनीमाथि मामा नाता पर्ने युवकबाट बलात्कारमा परेकी थिइन् । घटना लगत्तै पक्राउ परेका ती युवकलाई अछाम जिल्ला अदालतले पुर्पक्षको लागि बाल सुधार गृह डोटी पठाएको छ ।

अछामको मेल्लेख गाउँपालिका– ८ हात्तिकोटबाट बसाई सरेका एक सयभन्दा बढी परिवारको बसोबास कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगाली गाउँमा छ । तीमध्ये ४० परिवार आउजीका मात्रै छन् । दुई दशकअघि अछामबाट बसाई सरेर सुब्बा दमाई (आउजी)को परिवार पनि निगाली गाउँ पुगेको थियो । सुब्बाका तीन छोरामध्ये माइला हुन्, पुरन दमाई । 

डेढ दशकअघि पुरनले कमला आउजीसंग विवाह गरे । विवाह गर्दा कमला र पुरन दुबैको उमेर २० वर्ष पुगेको थिएन । उमेर नपुग्दै १४ वर्षअघि कमलाले पहिलो छोरालाई जन्म दिइन् । त्यसपछि थप दुई छोरा भए । उनीहरु १२ र ७ वर्षका छन् । ३२ वर्षको कलिलो उमेरै कमला भने तीन छोरालाई टुहुरो बनाएर संसारबाट बिदा भएकी छिन् । कमलाले साँचेर राखेको सपना छाउगोठले खोसिदियो । महिनावारी भएपछि छाउगोठमा सुतेकी कमला सर्पले डस्दा तीन छोरालाई टुहुरो बनाएर अस्ताएकी छिन् । 

‘शुक्रबार रातिको खाना खाएपछि महिनावारी भएपछि छाउ बार्नका लागि उनी (कमला) घर छेउकै गोठमा सुत्न गएकी थिइन्,’ कमलाका जेठाजु सिद्ध आउजी भन्छन्, ‘गोठमै सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएका थियौं । तर, बचाउन सकेनौं ।’ सिद्धका अनुसार महिनावारीको समयमा छाउ बार्ने कमला एक्ली होइनन् । ‘यहाँ सबैका घरघरमा गोठ छन्,’ उनले भने, ‘महिनावारी भएको समयमा गोठमा बस्ने हाम्रो चलन नै हो । छाउ नबार्दा कूल देउवा रिसाउँछन् ।’

कमला वैशाखअघिसम्म श्रीमान पुरनसंगै भारतमा मजदुरी गर्दै आएकी थिइन् । वर्षाैअघि निर्माण थालिएको पक्की घरको प्लास्तर लगाउने काम माइती पक्षको आर्थिक सहयोगमा भएपछि वैशाखमा मात्रै उनी तीन छोरालाई लिएर निगाली गाउँ पुगेकी हुन् । ‘तीन छोरालाई अब नेपालमै पढाउने भनेर भर्ना पनि गरिएको थियो,’ सिद्धले भने । 

०००
कतिपय घटनामा छाउगोठमा सुताएको भन्दै परिवारका सदस्यलाई कानुनी कारबाही पनि भएको छ । तर, पनि छाउपडी प्रथा भने उन्मुलन हुन सकेको छैन । पाँच वर्षअघि महिनावारी हुँदा छाउगोठमा सुताएको भन्दै अछामको साँफेबग– ३ का छत्र रावतलाई ४५ दिन कैद सजाय भएको थियो ।

रावतकी बुहारी पार्वती रावत महिनावारी हुँदा छाउगोठ बसेकी थिइन् । २१ वर्षीया पार्वतीको छाउगोठमा चिसोले कठिग्रिएर मृत्यु भएको थियो । घटनापछि छत्र पक्राउ परेका थिए । बुहारीलाई छाउगोठमा बस्न बाध्य पारेको पुष्टि भएपछि मुलुकी अपराध संहिताको धारा १६८ को ३ बमोजिम छुवाछुत गर्ने र गराउने दुवैलाई कानुनी कारबाहीको व्यवस्थाअनुसार छत्रलाई ४५ दिनको कैद सजाय भएको थियो । 

०००
हुन् त सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा व्याप्त छ । सरकारले छाउपडीविरुद्व बेलाबेला अभियान पनि चलाउँदै आएको छ । ०७६ पुसमा छाउगोठ भत्काउने निर्णय संघीय सरकारले गरेको थियो । उक्त निर्णयपछि सुदूरपश्चिमका नौ जिल्लामा सात हजार सात सय बढी छाउगोठ भत्काइएको छ ।

तर, भत्काएको कतिपय क्षेत्रमा फेरि छाउगोठ ठडिएका छन् । प्रहरीका अनुसार छाउगोठमा सबैभन्दा बढी अछाम जिल्लामा घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार पछिल्लो डेढ दशकमा १८ जनाको छाउगोठमा मृत्यु भएको छ । ‘यो प्रहरीसम्म पुगेको घटनाको विवरण मात्रै हो,’ डीएसपी भण्डारीले भने, ‘कतिपय घटना त प्रहरीसम्म पनि पुग्दैनन् ।’

डीएसपी भण्डारीका अनुसार अछाम प्रहरी र विभिन्न संस्थाले चालु आर्थिक वर्षमा मात्रै छाउपडीविरुद्व एक सय ९० वटा कार्यक्रम सञ्चालन गरेका छन् । ‘जनचेतनामूलक कार्यक्रम र छाउगोठ भत्काउने अभियान चलाएका थियौं,’ डीएसपी भण्डारीले भने, ‘हामी अनुगमनमा जाँदा कोही पनि छाउगोठमा बसेको फेला पर्दैनन् । घरसंगै बनाइएका ती गोठमा घाँस दाउरा राखिएको हुन्छ । स्थानीय बासिन्दाले पनि आफू छाउपडीको विरुद्वमा रहेको र छाउगोठमा कसैलाई राख्दैनौं भन्नुहुन्छ । तर, लुकीछिपी छाउगोठीमा महिलालाई पठाइएको हुन्छ ।’

प्रतिक्रिया