ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कृषि उत्पादन ७ प्रतिशतसम्म बढ्ने

शुक्रबार २७, असार २०८२ ०९:१७

धनगढी । चालु आर्थिक वर्षमा कृषि उत्पादन ७ प्रतिशतसम्म बढ्ने प्रक्षपण गरिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।८२ को अर्धवार्षिक गतिविधि अध्ययन प्रतिवेदनमा यस वर्ष कृषि उत्पादन ५ देखि ७ प्रतिशत बृद्धि हुने जनाइएको छ । कृषि यान्त्रिकीकरण र आधुनिकीकरण बढेको, वृहत एवं विशेष उत्पादन क्षेत्र कार्यक्रम लागु भएको, सिंचित क्षेत्रफल विस्तार, उन्नत जातको बीउ प्रयोगमा वृद्धि, हिउँदे वर्षा लगायतका कारण कृषि उत्पादन बढ्ने देखिएको प्र्रतिवेदनमा उल्लेख छ ।

‘सन्तुलित मलखादको प्रयोगमा सुधार तथा चैते धानको क्षेत्रफल वृद्धि, बसन्ते मकै उत्पादन अभियान सञ्चालन, वर्णशंकर जातको मकै प्रयोग, तरकारी खेतीमा युवाहरुको आकर्षण, विभिन्न सरकारी तथा गैह्र सरकारी निकायहरुको बढ्दो सहयोग, उन्नत बीउ र प्रविधिहरुको बढ्दो प्रयोग, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको व्यवसायिक कृषि तथा तरकारी खेतीमा संलग्नता आदि कारणले समग्रमा कृषि उत्पादन अनुमानित ५ देखि ७ प्रतिशतले वृद्धि हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको अर्थवार्षिक प्रतिवेदनमा खाद्य तथा अन्य बालीको उत्पादन ०.९८ प्रतिशतले वृद्धि भएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धानको उत्पादन क्रमशः १७.०१ प्रतिशत र ५.०९ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७१.२२ प्रतिशतले ह्रास आएको छ । ‘अन्य बालीहरुमा मकै, कोदो, आलु, भटमास र तेलहनको उत्पादनमा क्रमशः ९.७९ प्रतिशत, २४.१६ प्रतिशत, १.५४ प्रतिशत, ९.८४ प्रतिशत र ४.५९ प्रतिशतले कमी आएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उखुको उत्पादन भने १.१२ प्रतिशतले वृद्धि भएको छ ।’

 

दुध, मासु, अण्डा र माछा उत्पादन १० प्रतिशतसम्म बढ्ने

प्रतिवेदनले े दुध, मासु, अण्डा र माछाको उत्पादन समग्रमा ८ देखि १० प्रतिशतले वृद्धि हुने अनुमान पेश गरेको छ । प्रदेशमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा ब्लक कार्यक्रमको सञ्चालन, स्थानीय पालिकाहरुबाट उन्नत जातका भैसी प्रवद्र्धन कार्यक्रम सञ्चालन, बाख्रा बंगुर तथा कुखुराहरु स्थानीय समुहहरुलाई वितरण कार्यक्रम, मोडेल फर्महरुको स्थापना, कृषि ऋणको उपलब्धता, पशुपालन क्षेत्रमा बीमा योजना, व्यवसायिक पशुपक्षी तथा मत्स्य पालनमा आकर्षणले गर्दा उत्पादन बृद्धि हुने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया