ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा बैंकको चेक साट्न जीवित व्यक्तिलाई गरियो मृत प्रमाणित, मेयरका छोरा संलग्न

बुधबार २५, असार २०८२ ०१:४९

धनगढी । दार्चुलामा दुई जना जीवित महिलालाई मृत प्रमाणित गरिएको फेला परेको छ । शैल्यशिखर नगरपालिका– ६ का जीवित दुई महिलालाई नगरपालिकाकै कर्मचारीले मृत प्रमाणित गरिदिएका हुन् । 

नगरपालिकाको ६ नम्बर वडामा मालिकार्जुन अगुवा कृषक समूह छ । समूहका अध्यक्ष छन्, शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका कान्छा छोरा जनकसिंह धामी । वडागत कृषि कार्यक्रमअन्तर्गत उक्त समूहका लागि नगरपालिकाबाट दुई लाख ४० हजार बजेट विनियोजन गरिएको थियो । 

वडाध्यक्ष जगदिश धामीका अनुसार ओखरको बोट खरिद गर्दै कृषकलाई वितरण गर्नका लागि उक्त रकम मालिकार्जुन अगुवा कृषक समूहका लागि विनियोजन गरिएको थियो । ‘बोट खरिदपछि समूहमा विवाद आएको रहेछ,’ वडाध्यक्ष धामीले भने, ‘विवादपछि समूहका कोषाध्यष जानकी धामी र सचिव मञ्जु धामी रकम भुक्तानीका लागि चेकमा हस्ताक्षर गर्न तयार भएका थिएनन् ।’

रकम भुक्तानी नभएपछि समूहका अध्यक्ष जनकसिंह धामी र शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज बिष्टको मिलोमतोमा कोषाध्यक्ष जानकी र सचिव मञ्जुलाई मृत घोषणा गरेको फेला परेको हो । कृषि शाखा प्रमुख बिष्टले ग्लोवल आइएमई बैंक गोकुलेश्वर दार्चुलालाई खाता नविरकणका लागि पत्र लेख्दै भनेका छन्, ‘समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको हुँदा अब समूहको खाता सञ्चालनका लागि अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट सञ्चालन हुने गरी सो खातालाई नविकरण गरिदिन हुन सिफारिसका साथै अनुरोध गरिन्छ ।’

बैंकले उक्त नविकरणको पत्र पाएपछि सचिव र कोषाध्यक्षलाई सम्पर्क गर्दा दुबै जना जीवीतै रहेको खुलेको हो । ‘ग्लोवल आइएमई बैंक गोकुलेश्वर शाखाका कर्मचारीसंग मेरो चिनजान थियो,’ सचिव मञ्जुले भनिन्, ‘तपाईँको मृत्यु भइसकेको भन्दै नगरपालिकाले बनाएको कागज बैंकमा आएको छ भनेर फोन आएको थियो । आफ्नै मृत्यु प्रमाणितको कागज देख्दा अचम्म लागेको छ ।’ सचिव मञ्जुका अनुसार अध्यक्ष जनकसिंह धामीले एक्लै बजेट चलाउन खोजेको आरोप लगाइन् । ‘बजेट आएको विषयमा पनि हामीलाई जानकारी दिइएको थिएन,’ उनले भनिन् । 

यता मेयरका छोरासमेत रहेका समूहका अध्यक्ष धामीले रिसको झोकमा मृत्यु प्रमाणित गर्न लगाएको बताए । ‘सचिव र कोषाध्यक्षले हस्ताक्षर गर्न मान्नुभएन,’ उनले भने, ‘बजेट फ्रिज जाने देखेपछि रिसको झोकले कृषि शाखामार्फत मृत्यु प्रमाणित गरिएको हो । यसमा कृषि शाखाको पनि कुनै कमजोरी छैन ।’

कृषि शाखा प्रमुख बिष्टलाई सम्पर्क गर्दा उनको फोन अफ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले सामान्य कमजोरी भएको बताउँदै कृषि शाखा प्रमुख बिष्टलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।  

प्रतिक्रिया