धनगढी । चिकित्सकको आन्दोलनका कारण सेती प्रादेशिक अस्पताल धनगढीको बहिरङ्ग (ओपिडी) सेवा दुई दिनदेखि बन्द छ । ओपिडीमा चेकजाँच बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका छन् ।
सेतीको ओपिडी हिजो र आज बन्द रह्यो । सुदूरपश्चिम प्रदेशकै ‘रेफरल’ अस्पतालका रुपमा रहेको यो अस्पतालको ओपिडीमा दैनिक एक हजार जनाभन्दा बढीले उपचार सेवा लिँदै आएका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला र कैलाली, कञ्चनपुरका ग्रामीण क्षेत्रबाट उपचारका लागि सेतीमा पुगेका बिरामी ओपिडी बन्द हुँदा बढी मारमा परेका छन् ।
ओपिडीमा चेकजाँच र उपचारका लागि अस्पताल पुग्ने बिरामी उपचारविनै फर्कने गरेका छन् । मुटु सम्बन्धी रोगको जाँचका लागि सेतीमा पुगेकी डोटीको सिलगढीकी बाशुदेवी बिष्टले ओपिडी बन्द हुँदा आफू समस्यामा परेको गुनासो गरिन् । मुटुसम्बन्धी जाँचको रिपोर्ट चार दिनदेखि डाक्टरलाई देखाउन नपाएको उनले बताइन् ।
‘शुक्रबार आएकी थिएँ, डाक्टरले केही जाँच गर्नुपर्छ भनेर लेखिदिनु भयो, त्यसै दिन जाँच गरेकी थिएँ तर रिपोर्ट आउँदासम्म ओपिडी बन्द भइसकाले डाक्टरलाई देखाउन पाएन’ सोमबार बिहान सेतीमा भेटिएकी उनले भनिन्, ‘हिजो र आज बन्द रहेछ । दुखमात्र पाइयो ।’
सोमबार बिहान सेतीमै भेटिएका कञ्चनपुरको बेलौरीका करन नेपालीले ओपिडी बन्द हुँदा आफूले चेकजाँच गर्न नपाएको गुनासो गरे । पेट दुख्ने समस्या भएकाले उपचार गर्न आएको उनले बताए । ‘निजि अस्पतालमा धेरै खर्च लाग्ने भएकाले सेतीमा आएको हुँ’ उनले भने, ‘तर यहाँ त बन्द रहेछ । अब कहाँ जाने भन्ने समस्या भयो ।’
बिरामीको भिडभाड भइराख्ने सेती प्रादेशिक अस्पतालको ओपिडी सोमबार सुनसान थियो । जाँच र उपचार गराउन अस्पताल पुगेका बिरामीहरु फर्कन बाध्य भए ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले ओपिडीबाहेकका सेवा भने सुचारु रहेको जानकारी दिए । उनले ओपिडीमा दैनिक एक हजारदेखि एक हजार दुई सय जनासम्मले उपचार सेवा लिने गरेको बताए । स्वास्थ्य उपचारसँग सम्बन्धित मुद्दामा उपभोक्ता अदालतको फैसला विरुद्ध चिकित्सहरु देशव्यापी आन्दोलनमा छन् ।
प्रतिक्रिया