धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असारको २० दिनमा सवा चार अर्ब बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा २० दिनको अवधिमा चार अर्ब २० करोड ८८ लाख खर्च भएको हो ।
जेठ मसान्तसम्म प्रदेश सरकारले १३ अर्ब १८ करोड ९३ लाख अर्थात् कुल बजेटको ४१.८२ प्रतिशत खर्च गरेको थियो । असारको २० दिनमा चार अर्ब २० करोड ८८ लाख खर्च थप खर्च भएपछि कुल खर्च १७ अर्ब ३९ करोड २१ लाख पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख लेखा नियन्त्रक वासुदेव जोशीले बताए । खर्च प्रतिशत पनि बढेर ५५.१५ पुगेको छ ।
जेठ मसान्तसम्म पुँजीगततर्फ ३३.४६ र चालुतर्फ ५४.१३ प्रतिशत बजेट खर्च भएको थियो । असार २० गतेसम्म भने उक्त खर्च प्रतिशत बढेर पुँजीगततर्फ ४७.३३ र चालुतर्फ ६६.६७ प्रतिशत पुगेको प्रमुख लेखा नियन्त्रक जोशीले बताए ।
जोशीका अनुसार २० गतेसम्म पुँजीगततर्फ आठ अर्ब ८७ करोड ७६ लाख र चालुतर्फ आठ अर्ब ५१ करोड ४४ लाख बजेट खर्च भएको छ । वर्षको ११ महिना योजना कार्यान्वयन र बजेट खर्चमा निकै सुस्त देखिएको सरकारले असार लागेदेखि खर्च बढाएको हो । असारपछि दैनिक २२ करोड रुपैयाँ हाराहारी भुक्तानी भइरहेको लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्नका लागि हतारहतार काम हुँदा असारमा खर्च बढेको हो । बजेट भुक्तानी लिन असारमा हतारहतार काम गर्ने प्रवृत्ति प्रदेशमा विगतदेखि नै देखिँदै आएको छ । यसरी हतारहतार हुने कामको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । पहिले गरेका कामको बिल भुक्तानीका लागि अहिले पेस गर्ने प्रवृत्तिले पनि असारमा बढी भुक्तानी हुने गरेको प्रमुख लेखा नियन्त्रक जोशीले बताए ।
प्रतिक्रिया