टीकापुर । भीभत्स हत्या गरिएकी ८० वर्षीया वृद्धा मातादेवी शाहीको घटनामा प्रहरीले कुनै सुराक भेटाउन सकेको छैन । कैलालीको जानकी गाउँपालिका वडा नं। ९ अमरावतीकी शाहीको असार १७ गते वीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
प्रहरीका अनुसार आफ्नो दुई तले कच्ची घरमा एक्लै बस्दै आएकी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । उनको टाउको, घाँटी र छातीमा धारिलो हतियारको चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीलाई घटनाको अनुसन्धान निकै सकस भइरहेको छ । प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर पोलिग्राफ र नमूना परीक्षण गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले घटनाको अनुसन्धान जारी रहेको बताए । उनले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने र पोलिग्राफ तथा नमूना परीक्षण गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
मृतक शाही घरमा एक्लै बस्दै आएकी थिइन । उनका एक छोरा काठमाडौं र अर्को छोरा टीकापुर बस्दै आएका छन । उनको वीभत्स हत्यापछि सो क्षेत्रका स्थानीयहरुमा त्रास फैलिएको छ । पछिल्लो समय लागुऔषध दुव्यर्सनीहरुको संख्या बढ्दै जाँदा लुटपाट, हत्या जस्ता घटनाहरु बढ्न थालेपछि स्थानीयहरु त्रसित भएका हुन् ।
दुई वर्षअघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरुले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।
प्रतिक्रिया