ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकारी भोजसँगै स्खलन भएको सुदूरका सांसदको बजेट आलोचना

बिहिबार १९, असार २०८२ १०:५८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२÷०८३ को बजेट तथा योजनामा असार १ गते विहानसम्म सांसद र मन्त्रीहरुको लुछाचुँडी चल्यो । निकै रस्साकस्सीकाबीच असार १ गते साँझ ७ बजे आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा बजेट पेश गरे । 

दुुई सातापछि जब बजेटमाथिको छलफल (माओवादी सांसद गीता मालले संसद बैठकमै भनेअनुसार एउटा नाटक मञ्चन) सुरु भयो । चार दिनसम्म चलेको छलफलमा के सत्तारुढ, के विपक्षी सबैले बजेटको विरोधमा प्रदेशसभाको रोष्टमबाट आगो ओकल्ने तहको आलोचना गरे । स्पष्ट रुपमा बजेटको समर्थनमा बोल्नेमा कांग्रेस सांसद गीता चौधरीबाहेक अरु देखिएनन्, सुनिएनन् । बजेटमाथिको छलफलमा सांसदहरुका प्रस्तुति सुन्दा लाग्थ्यो, यो बजेट पारित हुन मुस्किल छ ।   

बजेटमाथि चलेको चार दिनसम्मको बैठकमा बोल्ने अधिकांश सांसदहरुले मन्त्रीको उछितो काँढेका थिए भने बजेटलाई रछ्यानमा मिल्काउनु पर्ने आशय व्यक्त गरेका थिए । आक्रोश व्यक्त गर्नेहरुमा सत्ता र प्रतिपक्ष दुुबैतर्फका सांसदहरु एकसेएक थिए । तर, बुधबार निर्णायक समयमा भने सबै सांसदहरुले एक ढिक्का भएर बजेटका विधेयकहरु पारित गरे । त्यसपछि देखियो, सांसदहरुको त्यो आलोचना केवल लोकरिझ्याइँका लागि मात्र थियो ।   

घटना त्यत्तिमा सीमित रहेन । बजेट पारित भएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सांसदहरुका लागि सामूहिक भोज (आयोजकहरुका शब्दमा लञ्च) को आयोजना ग¥यो । हुन त सरकार प्रमुखले बजेट पारित भएको सन्दर्भमा सांसदहरुका लागि एक छाक सामूहिक खानाको आयोजना गर्ने कुरा आफैमा धेरै ठुलो विषय पनि होइन । आयोजकका हकमा त्यसलाई कुनै बदनियत पनि मान्न पर्ने होइन । तर, जुन पृष्ठभूमिमा सांसदहरु लुरुलुरु उक्त भोजमा सहभागी भए, त्यो भने स्वभाविक सोह्रै आना अस्वभाविक थियो । 

अचम्म त के भने संसदको बैठकमा बोल्ने पालोमा केही भन्न बाँकी नराखी बजेटको आलोचना गर्ने सांसदहरु पनि सरकारले बजेट पारित भएको खुसीयालीमा आयोजित भोजमा भने लुरुलुरु सहभागि हुनुुले सम्बन्धित सांसदहरु स्वमंको मुकुण्डो उता¥यो । ‘यसैबाट सावित भयो की सांसदहरु कति पानीमा छन् र थिए भन्ने,’ सत्तारुढ दलकै एक सांसदले टिप्पणी गर्दै भने, ‘भैगो भनेर साध्य छैन ।’

यसवर्षको बजेटमा सांसदहरुले बाहिर जे हाउभाउ देखाए पनि मनमनै भने उनीहरु खुसी थिए भन्ने धेरैको बुुझाई र भनाई थियो । किनकि सरकारले योवर्ष प्रत्यक्षका लागि पाँच करोड र समानुपातिकका लागि तीन करोडको भाग सुनिश्चित गरेको थियो । 

आफ्नो भागको बजेट हिस्सामा सांसदहरुले स्वच्छिक ढंगले योजना र रकम सिफारिस गरेका थिए । सांसदहरुकै लागि बजेटमा सरकारले दुुई अर्ब २३ करोड भाग छुुट्याएको थियो । त्यसैमा सत्ता र प्रतिपक्षका केही प्रभावशाली नेताहरुले त अतिरिक्त बजेट पनि भाग पाएका थिए । 

प्रतिक्रिया