ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बजेट फेल गरौँ, पैसा फिर्ता माग्न धेरैका घर घेरिन्छन् : धामी

बुधबार १८, असार २०८२ ११:५६

धनगढी । नेकपा माओवादी केन्द्रका सांसद रमेशसिंह धामीले बजेट निर्माणमा आर्थिक चलखेल भएको भन्दै बजेट फेल गरेर जान प्रदेश सरकारलाई आग्रह गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकार नढालेर बजेट फेल गर्नुपर्ने धारणा राखे । आर्थिक चलखेलका आधारमा बजेट निर्माण भएको आरोप लगाउँदै उनले बजेट फेल गरेर गए त्यस्तो चलखेल आफै उजागर हुने बताए । 

‘यहाँ छानविन समिति के–के कुरा आए । मेरो एउटै माग छ सरकार नढाल्नोस्, बजेट फेल गर्नोस् । मन्त्रालय बदल्नोस्, एक महिनापछि हेर्नोस् कसको घर कति जनाले घेरा हाल्छन् पैसा फिर्ता माग्नका लागि । कतिको सामाजिक सञ्जालमा आउँछन्’ पूर्वमन्त्रीसमेत रहेका धामीले भने, ‘आँट गर्नोस् ।  बोरामा पैसा देख्ने मान्छे छन् । यति भनेपछि सरकारमा नभएको रिसले भनेको लाग्ला तर सत्तापक्षकै माननीयले यो भनिरहेका छन् ।’

नीति तथा कार्यक्रमअनुसार बजेट आउन नसकेको पनि उनले बताए । सरकारमै रहेका काँग्रेस र एमालेबीच बजेट निर्माणका क्रममा देखिएको अन्तरद्वन्द्व छताछुल्ल भएको धामीले बताए । प्रमुख प्रतिपक्षी माओवादीले बजेटलाई लिएर सदन बहिस्कार गर्नसक्ने भए पनि जिम्मेवार भएर त्यसो नगरेको उनको भनाइ थियो ।

‘जनतातिर हामी किन फर्कन सकेका छैनौँ, यो कुरा गम्भीर छ’ धामीले भने, ‘यहाँ हामी सदन बहिस्कार गर्न सक्थ्र्यौ तर जिम्मेवार भएर त्यसो नगरेको हो ।’ उनले बजेटमा सरकारले दीर्घकालीन योजनालाई एक हजार, एक लाख छुट्याएर उपेक्षा गरेको बताए । 
 

प्रतिक्रिया