धनगढी । कैलालीमा ८० वर्षीया वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाही मृत फेला परेकी हुन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार शाही आफ्नै घरमा मृत फेला परेकी हुन् ।
‘शाही दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा फेला परेकी छिन्,’ डीएसपी सिंहले भने, उनको छातीमा धारिलो हतियार प्रहार गरिएको र टाउकोमा पनि चोट देखिएको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको हत्या भएको देखिएको डीएसपी सिंहले बताए । डीएसपी सिंहका अनुसार शाही उक्त घरमा एक्लै बस्थिन् । उनका एक छोरा काठमाडौं र अर्का टीकापुर बस्दै आएका थिए ।
‘मंगलबार विहानै घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो,’ डीएसपी सिंहले थपे, ‘घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।’ मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको डीएसपी सिंहले बताए ।
प्रतिक्रिया